२०८३ कार्तिक २ गते , आईतबार

बलिउडका चर्चित अभिनेता नाना पाटेकरको निधन

sajilo news
एजेन्सी
२०८३ आश्विन २२ गते , विहीबार
बलिउडका चर्चित अभिनेता नाना पाटेकरको निधन

भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै प्रतिक्रिया नआएपछि बिहान ५: २० बजे मृत घोषणा गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। प्रारम्भिक जाँचअनुसार उनको  कार्डियक अरेस्टबाट (हृदयघात) का कारण निधन भएको आशंका गरिएको छ।

सन् १९५१ जनवरी १ मा जन्मिएका नाना पाटेकर हिन्दी र मराठी सिनेमाका चर्चित अभिनेतामध्ये एक थिए । उनले सन् १९७८ को चलचित्र ‘गमन’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। उनले बलिउडका साथै मराठी सिनेमामा पनि आफ्नो अद्वितीय अभिनयको छाप छोडेका छन्। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘तिरङ्गा’, ‘अग्निसाक्षी’, ‘अपहरण’, ‘वेलकम’ र ‘नटसम्राट’ जस्ता चलचित्रहरू निकै चर्चित छन्।

अभिनयका साथै उनी सामाजिक कार्यका लागि पनि परिचित थिए। उनले स्थापना गरेको ‘नाम फाउन्डेसन’ मार्फत भारतका खडेरीपीडित किसानहरूलाई उल्लेखनीय सहयोग पुर्‍याउँदै आएका थिए। कला क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै भारत सरकारले उनलाई सन् २०१३ मा ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको थियो।

सम्बन्धित समाचार