झापामा ‘भन्सार छलीका सामान समात्न’ होडबाजी, चल्यो सशस्त्र र नेपाल प्रहरीबीच प्रतिस्पर्धा
एक हवल्दारको बयानले ल्याएको तरंग, सीमाको सुरक्षा कि राजस्वको खेल ?
झापा । पूर्वी सीमा नाका काँकडभिट्टाबाट भइरहेको तस्करी (भन्सार छली) नियन्त्रण गर्न पछिल्लो समय झापामा सुरक्षा निकायबीच नै प्रतिस्पर्धा देखिन थालेको छ।
विशेषगरी असार २२ पछि मेचीनगरको काँकडभिट्टा लगायतका क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीले भन्सार छलीका सामान तथा ती सामान ओसारपसारमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाउने होडबाजी नै चलेको छ।
सीमा क्षेत्रमा लामो समयदेखि सक्रिय रहेको तस्कर समूह (अवैध कारोबार गर्नेहरू) माथि एकाएक सुरक्षा निकायको निगरानी बढेपछि ‘कसले बढी सामान नियन्त्रण गर्ने’ भन्ने खालको प्रतिस्पर्धा देखिन थालेको पछिल्ला केही घटना क्रमहरूले प्रस्टाएको छ। यसले सुरक्षा निकायबीच एउटा गम्भीर प्रश्नसमेत जन्माएको छ- ‘सीमा क्षेत्रमा अवैध कारोबार साँच्चिकै नियन्त्रण हुन थालेको हो वा माथिल्लो तहबाट दबाब परेपछि केही समयका लागि मात्र ‘एक्सन’ काम देखाउन बरामद गर्न थालिएको हो ?’
गृहमन्त्रीको अनुगमनपछि बदलियो सीमा क्षेत्रको दृश्य
गत असार २२ गते गृहमन्त्री सुदन गुरुङले झापाको पूर्वी सीमा क्षेत्र काँकडभिट्टा, भद्रपुर सीमा नाका तथा अन्य सुरक्षा संरचनाको स्थलगत अनुगमन गरेका थिए। भ्रमणका क्रममा उनले सुरक्षा निकायका पदाधिकारीसँग सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, लागुऔषध ओसारपसारलगायतका विषयमा छलफलसमेत गरेको सुरक्षा निकाय स्रोतले जनाएको छ।
गृहमन्त्री गुरुङको भ्रमणअघि नै काँकडभिट्टा सीमा क्षेत्रमा भन्सार छलीका गतिविधि हुने गरेको जनगुनासो रही आएको थियो। गृहमन्त्रीको अनुगमनका क्रममा समेत सीमावर्ती बासिन्दाहरू सीमा नाकाबाट हुने गरेको अवैध कारोबार तथा समस्याहरूको बारे गुनासाहरू उनलाई भेटेरै राखेका थिए।
यतिसम्म कि उनीहरूले–सीमाबाट हुने अवैध कारोबार गर्ने कारोबारीहरूसँग केही सादा पोसाकका सुरक्षाकर्मीहरूको मिलेमतो रहेको भन्दै उनीहरूको नामसमेत गृहमन्त्री गुरुङलाई टिपाएका थिए। त्यसले तरंग पनि ल्याएको थियो। गृहमन्त्री फर्किएपछि भने मेचीनगर अर्थात काँकडभिट्टा क्षेत्रमा सुरक्षा निकायको सक्रियता उल्लेख्य रूपमा बढेको देखिन्छ। तर, तस्करी गतिविधि भने अझै रोकिएको छैन।
करोडौँको कारोबार हुने दाबी, ‘लाइन’को आरोप
काँकडभिट्टा नाका आसपासबाट दैनिक करोडौँ रुपैयाँ बराबरका सामान भन्सार छली गरेर नेपाल भित्रिने गरेको कारोबारी स्रोतहरूको दाबी छ। लत्ताकपडा, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोबाइल पार्टस, गाडीका पार्टपुर्जा, खाद्यान्नलगायतका विभिन्न सामान अवैध बाटो हुँदै नेपाल प्रवेश गराउने र त्यसलाई विभिन्न सवारीसाधनमार्फत झापाका मुख्य बजार बिर्तामोड र दमकसम्म पुर्याउने गरिएको स्रोतहरूको भनाइ छ।
यस्तो अवैध कारोबारका लागि सुरक्षा निकायका केही कर्मचारीदेखि हाकिमसम्मलाई ‘मासिक लाइन’ पुग्ने गरेको स्रोतको दाबी छ। त्यसमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटाइएका घुमुवा (सादा पोशाक)का प्रहरीहरूसमेत संग्लता रहेको स्रोतको दाबी छ।
जिल्लाका प्रहरी प्रमुख एसपी बसुन्धरा
खड्काले ‘मासिक लाइन’ मार्फतको रकम नबुझेपछि चुनावको बेला एसपी खड्काको विश्वास पात्र मानिएका सादा पोसाकका प्रहरीहरूले त्यहाँका कारोबारीसँग रकम बुझ्दा तस्करी गतिविधि झन् मौलाउँदै गएको छ। आफ्नो कर्तुत बाहिर आउने डरले ती सादा पोसाकका प्रहरीहरूले अन्य सीमा, वडा तथा इलाका क्षेत्रबाट खटाइएका अरू सादा पोशाक प्रहरीहरूलाई जिल्लान्तर सरुवा गराउने खेलमा समेत लागिपरेका छन्। ‘एसपी खड्काको मन जितेका कारण ती सादा पोसाकका प्रहरीले जे भन्दा पनि अहिले जिल्लामा भएकै छ, चलिरहेको पनि छ,’ एक प्रहरी अधिकृतले भने।
‘उनीहरूले केही लागूऔषध कारोबारी र फरार व्यक्ति पक्राउ गरेर जिल्लामा काम देखाउँदा एसपी खड्का पनि उनीहरूप्रति ढुक्क भएर विश्वास गर्दा आश्चर्य लाग्छ,’ ती अधिकृतले थपे। कारोबारीहरूले मासिक रकम बुझाएर अवैध कारोबार सञ्चालन गर्दै आइरहेको कारण भन्सारको राजश्व संकलनमा समेत भारी गिरावट आएको छ।
कारोबारीहरूले काँकडभिट्टाको मेची पुल, सतीघट्टा, नकलबन्दा, बाहुनडाँगी, तिरीङ, बंशल बगानलगायतको क्षेत्रबाट सरसामान भित्राइरहेका छन्। अवैध रुपमा भित्राइएका सरसामानहरू पोका र कमिसन सिस्टमले बिर्तामोडसम्म पुर्याइन्छ। लत्ताकपडा ६ देखि ८ हजार पोकामा र अन्य सामान १० देखि १५ प्रतिशत कमिशन सिस्टममा पुर्याउने गरेको कारोबारी स्रोतको दाबी छ।
६ देखि ८ हजार पोकामै लत्ताकपडा काँकडभिट्टा नाकाबाट सोजै भित्रिरहेकोले बिर्तामोडका केही नाम चलाउँदा ठूला व्यापारीहरूले भद्रपुर भन्सार कार्यालयमा ल्याउनै छाडिसकेका छन्। जसकारण भद्रपुर भन्सारले लक्ष्य अनुसार राजश्व संकलन गर्न सकिरहेको छैन। भद्रपुर भन्सारका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आव २०८२÷८३ मा रु २५ करोड तीन लाख २५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्र संकलन भएको हो। सुर्तीले मात्र राजश्व थामिरहेको उनको भनाइ छ।
एक हवल्दारको बयानले ल्याएको तरंग
सीमा क्षेत्रमा हुने भनिएको अवैध कारोबारसँग जोडिएको घटनामा सशस्त्र प्रहरीका एक हवल्दारमाथि अनुसन्धान अघि बढेपछि जिल्लाको विषय थप पेचिलो बनेको छ। सशस्त्र प्रहरी बलको ३८ नम्बर रिजर्भ गण हेडक्वार्टर पाडाजुंगी झापामा कार्यरत सशस्त्र हवल्दार हरि मगरलाई तस्कर समूहसँग रकम असुलेको आरोपमा विभागीय अनुसन्धानका लागि तानिएको छ। घुमुवा (सादा पोशाक) को रुपमा खटाइएका मगरले काँकडभिट्टासहित जिल्लाका अन्य सीमा क्षेत्रका कारोबारीसँग मासिक रुपमा मोटो रकम बुझेर ‘लाइन’ खुलाएको आरोप लागेको छ।
मगरसँगको बयानको आधारमा सशस्त्र प्रहरी बल मुख्यालयले झापामा कार्यरत जवानदेखि एसपीसमेत आन्तरिक छानबिन तथा अनुसन्धान दायरामा परेका थिए। यसैक्रममा असार ३२ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर २ हेडक्वार्टर झापाका प्रमुख एसपी अम्बिकाप्रसाद जोशीलाई मुख्यालयमा बोलाइएको थियो।
मगरले आफूले कोबाट कति रकम उठाएर कसलाई बुझाउने गरेको भन्ने विवरण बयानमा खुलाएको स्रोतको दाबी छ। त्यही बयानका आधारमा एसपी जोशीमाथि घुमुवा परिचालन गरेर तस्करीमा संलग्न समूहसँग मिलेमतो गर्दै असुली धन्दा सञ्चालन गरेको आरोपमा अनुसन्धान अघि बढाएको थियो।
मुख्यालयले एसपी जोशीलाई पुनः झापा नपठाएर सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावानिसी बाहिनी मुख्यालय रुपन्देही पठाएको छ। गत माघ (चुनावअघि) झापा आएका एसपी जोशी ६ महिनामै तानिएर अनुसन्धानको घेरामा परेको घटनाले जिल्लामा तरंग ल्याएको छ।
त्यसपछि तस्करसँग साँठगाँठ गर्ने केही सशस्त्र प्रहरीहरू नै एकाएक तस्करविरुद्ध ‘एक्सन’ उत्रिएर सरसामान बरामद गर्न थालेको पछिल्लो घटना क्रमले पुष्टि गर्छ। एसपी नै अनुसन्धानमा तानिएपछि झापामा घर भई जिल्लामै कार्यरत सशस्त्र प्रहरीहरूलाई अहिले धमाधम जिल्लान्तर सरुवासमेत गरिँदैछ।
एसपी जोशीको स्थानमा कर्माचार्य
छानबिनका लागि एसपी जोशीलाई मुख्यालय बोलाइएपछि उनको स्थानमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सीमा सुरक्षा विभागमा कार्यरत एसपी सचिन कर्माचार्यलाई झापाको जिम्मेवारी दिएर पठाउन लागिएको छ।
सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा भएको व्यवस्था तथा सोही नियमावलीको नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम एसपी कर्माचार्यलाई पठाइएको हो। एसपी कर्माचार्य यही महिनाको अन्तिममा आउने बुझिएको छ।
झापाको सीमा क्षेत्रमा पछिल्लो समय तस्करी नियन्त्रणलाई लिएर देखिएको दबाबका बीच नेतृत्व परिवर्तन हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अब नयाँ नेतृत्वले सीमा क्षेत्रमा भइरहेको भनिएको अवैध कारोबारमाथि कस्तो कदम चाल्छ भन्ने चासोको विषय बनेको छ।
सामान समात्न सशस्त्र र नेपाल प्रहरीबीच प्रतिस्पर्धा
गृहमन्त्री सुदन गुरुङको अनुगमन। त्यसलगतै सशस्त्र प्रहरीको एसपी अम्बिकाप्रसाद जोशी विभागीय कारबाहीमा परेपछि जिल्लाका सीमा नाकामा अवैध सामान समात्न सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच प्रतिस्पर्धा चलिरहेको छ।
सशस्त्र र नेपाल प्रहरी दुवैले भन्सार छलीका सामान तथा सवारीसाधन नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाउने क्रम बढेको छ। सीमा सुरक्षाको मूल जिम्मेवारी सशस्त्र प्रहरीको भए पनि नेपाल प्रहरीले समेत सीमा क्षेत्रबाट भित्रिएका अवैध सामान नियन्त्रणमा लिएर भन्सार बुझाउने गरेको छ।
यसरी दुवै सुरक्षा निकायबाट लगातार सामान बरामद हुन थालेपछि सीमा क्षेत्रमा लामो समयदेखि मौलाएको भनिएको अवैध कारोबारमाथि अहिले साँच्चिकै कडाइ भएको हो कि ‘देखाउने गरी नियन्त्रण’ गर्ने अभ्यास सुरु भएको हो ? भन्ने प्रश्न उठेको छ। दुवै सुरक्षा निकायले पछिल्लो समयमा सामान बरामद गरेको केही घटना क्रम यस्तो रहेको छ।
गत असार २८ गते झापा प्रहरीले गृह प्रशासनलाई आफ्नो काम देखाउने उद्देश्यले तेस्रो मुलुकबाट आयात गरिएका र आवश्यक बिलबिजक तथा भन्सार कागजात भएका ‘चाइनिज खरबुजाको बीउ’ गोदामको ताला फोडेर बलजफती शैलीमा उठाएर भन्सार कार्यालयमा बुझाएको थियो। प्रहरी कार्यालय झापाका एसपी बसुन्धरा खडका र वडा प्रहरी कार्यालय भद्रपुर मोती योञ्जन तामाङ सहितको ५५ जनाको टोलीले भद्रपुर–३ स्थित ज्ञानेचोक निवासी भीमलाल सुवेदीको घरको दुईवटा सटर गोदाममा राखिएको ९४८ बोरा ‘चाइनिज खरबुजाको बीउ’ छापा मारेर बरामद गरेको थियो। बरामद गरिएको ३७ हजार ९२० केजी बीउ प्रहरीले ८९ लाख ७७ हजार ४० रुपैयाँ मूल्याङ्कन तोकेर भद्रपुर भन्सार कार्यालय बुझाइएको छ।
यता प्रहरीले वैध कागजात भएको सामान बरामद गरेर ज्यादती गरेको भन्दै माँ दुर्गा अर्डर सप्लायर्स भद्रपुरले उच्च अदालत विराटनगर, इलाम इजलासमा झापा प्रहरी र भन्सारलाई विपक्षी बनाएर साउन १ गते मुद्दा हालेको छ। यो मुद्दा प्रक्रियामै रहेको जनाइएको छ।
प्रहरीले ‘चाइनिज खरबुजाको बीउ’ बरामद गरेको सोही दिन असार २८ गते राति ९ ४० बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेक्वा काँकडभिट्टाबाट खटिएको चेकप्वाईन्ट टोलीले मेचीनगर नगरपालिका ७ जोरसिमलमा प्रदेश १–०१–००११ च ९८४२ नम्बरको पिकअपमा भारतबाट अवैध रुपमा भन्सार छली भित्राएर ल्याएको स्टेशनरी सामान बरामद गरेको थियो। पिकअपमा अन्दाजी मूल्य ३ लाख मूल्यको स्टेशनरी सामान र पिकअपको अन्दाजी मूल्य ५ लाख गरी जम्मा ८ लाख रुपैयाँमा बुझाएको थियो।
त्यस्तै साउन ६ गते बिहानको २ बजे सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले मेचीनगर नगरपालिका–८ स्थित सीमा क्षेत्रबाट भारततर्फबाट भन्सार छली गरी नेपाल ल्याइँदै गरेको २४ बोरा विभिन्न प्रकारका लत्ताकपडा बरामद गरिएको थियो। बरामद कपडाको अनुमानित मूल्य ७ लाख ३१ हजार ४ सय ९० रुपैयाँ तोकेर भन्सार बुझाएको छ।
साउन १० गते बिहान करिब ३ः३० बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरे काँकडभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको ३२ बोरा चिनी बोकेको प्र–१–०१–००१ ज ४०३६ नम्बरको पिकअप र मे १० प ५७५५ नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्ग अन्तरगत अर्जुनधारा नगरपालिका–११ कालाझोडाबाट नियन्त्रणमा लिएको थियो। बरामद गरिएको चिनीको अनुमानित मूल्य १ लाख १२ हजार, पिकअपको १० लाख तथा मोटरसाइकलको २ लाख गरी जम्मा १३ लाख १२ हजार मुल्य तोकेर भन्सार बुझाएको छ।
त्यसैगरी साउन १९ गते बिहान २ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले विशेष सूचनाको आधारमा भारतबाट भन्सार छलेर ल्याई भण्डारण गरिएको ठूलो मात्रामा लत्ताकपडा, कस्मेटिक सामग्री तथा हार्डवेयरका सामान बरामद गरेको थियो।
मेचीनगर–७ निवासी कोपिला तामाङको घरमा खानतलासी गर्दा घरभित्र लुकाइछिपाई राखिएको १८ लाख ७४ हजार ९१० रुपैयाँ अवैध सामान बरामद गरी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको थियो।
साउन २० गते ५ बजेको समयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले मेचीनगर ६ हनुमान मन्दिर अगाडि भारतबाट अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको मोबाइलको विभिन्न प्रकारको सहायक सामाग्री र बच्चाको कपडा बरामद गरेको थियो। दुई लाख ६६ हजार रुपैयाँ तोकेर मेची भन्सार बुझाइसकेको छ।
साउन २१ गते दिउँसो ४ बजे सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाको टोलीले मेचीनगर १५ स्थित बंशल सीमा क्षेत्रबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, इलेकट्रोनिक्स सामानहरूसहित दुईवटा सिटी सफारीलाई नियन्त्रणमा लिएको थियो। सामानसहित सिटी सफारीलाई ५ लाख ४५ हजार ६५० मुल्य तोकेर भद्रपुर भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ।
सीमाको सुरक्षा कि राजस्वको खेल ?
काँकडभिट्टा नेपाल–भारतबीचको महत्त्वपूर्ण व्यापारिक नाका हो। यहाँबाट हुने वैध आयात–निर्यातले सरकारलाई ठूलो राजस्व योगदान गर्छ। तर, त्यही नाकाको छेउछाउबाट भन्सार छली भएर सामान भित्रिने हो भने त्यसको प्रत्यक्ष असर राज्यको राजस्वमा पर्छ र वैध व्यवसाय गर्ने व्यवसायीसमेत मारमा पर्छन्। त्यसैले अहिलेको आवश्यकता सशस्त्र र नेपाल प्रहरीबीच बढी सामान बरामद गर्ने प्रतिस्पर्धा होइन, एउटै सूचना प्रणालीमा आधारित भएर सीमा अपराध नियन्त्रण गर्ने समन्वित संयन्त्र बन्नुपर्छ।
गृहमन्त्रीको अनुगमनपछि बढेको सुरक्षा सक्रियतालाई परिणाममुखी बनाउन सकिए सीमा क्षेत्रमा हुने भनिएको तस्करी नियन्त्रणमा उल्लेख्य सुधार आउन सक्छ। तर, केही दिनको बरामदी र भन्सार बुझाउने क्रमपछि पुनः पुरानै अवस्था फर्कियो भने अहिलेको अभियान पनि औपचारिकतामै सीमित हुने सरोकारवाला निकाय बताउँछन्।