झापामा चारवटा औषधि पसल शिल
झापा । झापामा चारवटा औषधि पसल शिल गरिएको छ । औषधी व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका विभिन्न स्थानमा सञ्चालित औषधी पसलहरूको स्थलगत अनुगमनको क्रममा चारवटा औषधी पसल शिल गरिएको हो ।
संयुक्त अनुगमन टोलीले तीन दिनसम्म जिल्लाको भद्रपुर, बिर्तामोड, कचनकवल र दमकमा गरी ४७ वटा औषधी पसलको अनुगमन गरेका थिए । अनुगमनको क्रममा भद्रपुरको सृजना फार्मेसी, चन्द्रगढीको निदान आयुर्वेद मेडिकल, कचनकवलको अमिला मेडिकल हल र सापकोटा हेल्थ क्लिनिक शिल गरिएको औषधी व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दीपेन्द्र खड्काले जानकारी दिए ।
सृजना मेडिकल हल भद्रपुरले एउटा लाइसेन्सबाट दुई वटा पसल सञ्चालन गरेपछि शील गरिएको उनले बताए । त्यस्तै निदान आयुर्वेद मेडिकलले दर्ता प्रमाणपत्र देखाउन नसकेको, अमिला मेडिकल हलले व्यवसायीको अनुपस्थितिमा फार्मेसी सञ्चालन गरेको तथा पसल दर्ता नवीकरण म्याद गत वर्ष सकिएको र सापकोटा हेल्थ क्लिनिकले दर्ता नगरी फार्मेसी सञ्चालन गरेको अनुगमनको फेला परेको उनको भनाई छ ।
त्यस्तै प्रादेशिक अस्पताल भद्रपुर अगाडिका दुई वटा औषधी पसल भद्रपुर मेडिकल हल र खरेल फार्मेसी अनुगमनका बेला बन्द रहेको हुँदा विभागमा उपस्थिति हुन पत्र काटिएको जनाइएको छ ।