२०८३ असार २४ गते , बुधबार

गृहमन्त्री गुरुङको झापा भ्रमणपछि प्रहरीको सुरक्षा व्यवस्थामाथि नयाँ बहस

sajilo news
झापा
२०८३ असार २४ गते , बुधबार
गृहमन्त्री गुरुङको झापा भ्रमणपछि प्रहरीको सुरक्षा व्यवस्थामाथि नयाँ बहस

झापा । गृहमन्त्री सुधन गुरुङको झापा भ्रमणपछि जिल्लाको सुरक्षा व्यवस्था, सीमा नाकाको व्यवस्थापन तथा प्रहरीको भूमिकाबारे व्यापक बहस सुरु भएको छ। गृहमन्त्री गुरुङको भ्रमणले झापा प्रहरीको नकारात्मक छवि यतिबेला देशभर ट्रोल बनिरहेको छ । 

भ्रमणका क्रममा उठेका गुनासा, गृहमन्त्रीले दिएका निर्देशन तथा त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको विज्ञप्तिले विषयलाई थप चर्चामा ल्याएको छ। असार २१ गते गृहमन्त्री गुरुङले काँकडभिट्टा नाकासहित झापाका विभिन्न सरकारी कार्यालय र सुरक्षा निकायको निरीक्षण तथा अनुगमन गरेका थिए। सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई जना डीएसपीसहित केही सुरक्षाकर्मीको मोबाइल नियन्त्रणमा लिइएको तथा तस्करीमा संलग्नताको आशंकामा निगरानी गरिएको भन्ने समाचार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

उक्त विषयप्रति आपत्ति जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता समाचार पूर्णतः भ्रामक, आधारहीन र तथ्यहीन रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रञ्जन अवाले पुष्टि नभएका सूचना प्रकाशन, प्रसारण वा सामाजिक सञ्जालमार्फत सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग आग्रह गरेका छन्।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले सर्वसाधारणका गुनासा पनि सुनेका थिए। स्थानीयवासीहरूले काँकडभिट्टा र भद्रपुर नाकामा अवैध तस्करी बढेको, सीमा क्षेत्रमा सुरक्षा व्यवस्थापन प्रभावकारी हुन नसकेको तथा केही स्थानमा प्रहरीको भूमिकाप्रति प्रश्न उठाएका थिए। एक स्थानीय महिलाले तस्करीमा प्रहरीको संलग्नता रहेको आरोपसमेत गृहमन्त्रीसमक्ष राखेकी थिइन्।

त्यसपछि गृहमन्त्रीले भन्सार तथा सुरक्षा निकायका कर्मचारीलाई नाकाको सुरक्षा थप चुस्त बनाउन, अवैध गतिविधि नियन्त्रणमा कडाइ गर्न र सर्वसाधारणका गुनासालाई गम्भीरतापूर्वक सम्बोधन गर्न निर्देशन दिएका थिए। काँकडभिट्टा बजार तथा बसपार्क क्षेत्रको अनुगमनका क्रममा उनले भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधनलाई जथाभावी पार्किङ गर्न नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईलाई निर्देशन दिएका थिए।

यस्तै, जोरसिमल क्षेत्रमा सशस्त्र प्रहरीले सञ्चालन गरिरहेको अवैध चेकजाँच हटाउन पनि गृहमन्त्रीले तत्काल निर्देशन दिएका थिए। बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको समस्याबाट प्रभावित स्थानीयले हात्ती नियन्त्रणमा सुरक्षा निकायको प्रभावकारी सहयोग नपाएको गुनासो गरेका थिए। इलाका प्रहरी कार्यालय नकलबन्दाको व्यवस्थापन सुधार गर्नुपर्ने मागसमेत स्थानीयले राखेका थिए। त्यस्तै भद्रपुर नाकाबाट हुने गरेको तस्करी लगायतको गतिविधिको बारेमा सर्वसाधारणले गृहमन्त्रीसमक्ष गुनासो पोखेका थिए । उनीहरुले काँकडभिट्टा जस्तै राति १० बजेसम्म सीमा नाका खुलाउन माग राखेका थिए ।  

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले मेची भन्सार कार्यालय, काँकडभिट्टा नाका, भद्रपुर नाका, बाहुनडाँगी, झापा कारागार, इलाका प्रहरी कार्यालय नकलबन्दा, सशस्त्र प्रहरी बलको बीओपी नकलबन्दा, जिल्ला प्रशासन कार्यालय झापा तथा जिल्ला प्रहरी कार्यालय झापालगायतका कार्यालयको अनुगमन गरेका थिए।

अनुगमनपछि सीमा क्षेत्रमा अवैध तस्करी, लागूऔषध ओसारपसार, जङ्गली हात्तीको समस्या तथा सेवा प्रवाहसँग सम्बन्धित विषयमा सम्बन्धित निकायलाई सुधारात्मक कदम चाल्न निर्देशन दिइएको जनाइएको छ। जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहबारे पनि गृहमन्त्रीले सुधार आवश्यक रहेको संकेत गरेका थिए। गृहमन्त्रीको भ्रमणपछि झापामा सीमा सुरक्षा, सुशासन र सार्वजनिक सेवा प्रवाहमा सुधार हुने अपेक्षा स्थानीयवासीले व्यक्त गरेका छन्।
 

सम्बन्धित समाचार