२०८३ असार १२ गते , शुक्रबार

ज्यानमारा बन्दै टिपर, ९ दिनमा झापामा चारजनाको ज्यान लियो

बालिकाको मृत्युपश्चात भीडले जलायो टिपर

sajilo news
झापा
२०८३ असार १२ गते , शुक्रबार
ज्यानमारा बन्दै टिपर, ९ दिनमा झापामा चारजनाको ज्यान लियो

असारे विकासको नाममा जतात्यतै सडक निर्माण हुन थालेपछि पछिल्लो समयमा झापामा टिपर आतंक बढेको छ । टिपर चालकको लापरबाहीका कारण ९ दिनमा झापामा चार जनाले अकालमै ज्यान गुमाएको छ ।  बिहीबार साँझ करिब ७ बजे बिर्तामोड नगरपालिका–३ बिर्ता बजारको हटियालाईनस्थित भित्री सडक खण्डको अधुवा खोलामा रामचौकबाट भद्रपुरतर्फ आउँदै गरेको मिक्स गिट्टी लोड भएको मे १ क ६४३ नम्बरको टिपरले पैदल यात्री सोही ठाउँकी किशोर चापागाईँकी १० वर्षीया छोरी अनुकृति चापागाईँलाई ठक्कर दिएको थियो । घाइते बालिकालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा पु¥याउनसाथ डाक्टरले मृत घोषित गरेका थिए । 
बालिकाको मृत्यु पश्चात् आक्रोशित बनेका स्थानीयहरुले ज्यानमारा भन्दै टिपरमा तोडफोड गर्नुका साथै आगजनी गरिदिएका छन् । दुर्घटना स्थलमा मृतकका आफन्त र स्थानीय गरी करिब ३ सय जना भेला भई टिपरमा पेट्रोल छर्किएर आगजनी गरेका थिए । घटनास्थल तनावग्रस्त बनेपछि प्रहरीले लाठीचार्ज गरी प्रदर्शनकारीहरूलाई त्यहाँबाट हटाएका थिए । त्यसपछि बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएका थिए । आगजनीबाट टिपरको अगाडिको भागमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।  
टिपर चालक बुद्धशान्ति गाउँपालिका–१ का ५३ वर्षीय श्यामप्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक परिवारले बालिकाको शव हालसम्म नबुझेको र घटनाको बारेमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा छलफल भइरहेको जनाइएको छ । 
त्यस्तै तीन दिनअघि असार ९ गते दिउँसो १ः१० बजे टिपरको ठक्करबाट दमकमा एक भुटानी शरणार्थीको मृत्यु भएको थियो । मृत्यु हुनेमा दमक नगरपालिका–३ स्थित बेलडाँगी शरणार्थी शिविर सेक्टर नम्बर ए २ हट नम्बर २८५ बस्ने ८३ वर्षीय वृद्ध इन्द्रबहादुर भट्टराई रहेका छन् । दमक–३ बेलडाँगी बाङ्गे चोकस्थित भित्री पक्की सडक खण्डमा तारावारिबाट दूधेतर्फ जाँदै गरेको मे १ क ८७९ नम्बरको मिक्स्चर मेसिन टिपरले साइकल यात्री भट्टराईलाई ठक्कर दिएको थियो । टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि दमक अस्पताल दमक लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
गत असार ३ गते दमकमै टिपरको ठक्करबाट एक पूर्वशिक्षकको मृत्यु भएको थियो । बिहान ९.५५ बजेतिर दमक नगरपालिका–९ स्थित निम्स अस्पताल अगाडिको पूर्व पश्चिम राजमार्गमा दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको मे ११ प १६२० नम्बरको स्कुटरलाई प्र. १–०२–००१ क ४२८५ नम्बरको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरमा सवार दमक–५ का अन्दाजी ६० वर्षीय भीमबहादुर कार्की गम्भीर घाइते भएका थिए । टाउको, दाहिने हात, अनुहारलगायतका शरीरको विभिन्न भागमा चोट लागेका कार्कीलाई उपचारका लागि दमक अस्पताल लगिएकोमा अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिएर फरार भएका टिपर र टिपर चालक गौरादह नगरपालिका–९ बैगुनधुराका २९ वर्षीय दीपक प्रधानलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । त्यस्तै असार २ गते राति ८ः२० बजेको समयमा गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको थियो ।  
गौरादह नगरपालिका–१ नवदुर्गा पेट्रोल पम्पस्थित पाडाजुँगी–गौरीगंज भित्री सडक खण्डमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्र.न.१–०१–००१ क ११८८ नम्बरको टिपरले साइकल यात्री गौरादह–४ का ६१ वर्षीय प्रेमप्रसाद गुरागाईँलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको थियो ।  घाइते गुरागाईँलाई उपचारको लागि दमक अस्पताल पठाइएकोमा उपचारको क्रममा राति ८ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार