२०८३ जेष्ठ १९ गते , मंगलबार
झापा बजारमा आगलागी, एउटा कुखुरा पसल जलेर नष्ट
झापा गाउँपालिका–२ स्थित झापा बजारमा रहेको एक कुखुरा मासु पसलमा आज बिहान आगलागी भएको छ । आगलागीबाट उमेश दर्जीको कुखुरा मासु पसल पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान करिब ३ः४० बजे पसलमा अचानक लागो आगोबाट पसलभित्र रहेका ३ वटा ग्यास चुलो, ग्यास सिलिन्डर, विभिन्न भाडावर्तन, ५ वटा कुखुरा, ४ वटा टेबल–कुर्सी, ५ वटा टिनका पाता तथा पसलका अन्य सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन।
घटनाबाट करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो बिहान करिब ४ बजे स्थानीयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।