२०८३ बैशाख १५ गते , मंगलबार

झापामा प्रहरीकै संरक्षणमा फर्सीको बिउ तस्करी : सीमामा १०० रुपैयाँको सामानमा भने कडाइ यथावत्

sajilo news
पार्थ मण्डल
२०८३ बैशाख १३ गते , आईतबार
झापामा प्रहरीकै संरक्षणमा फर्सीको बिउ तस्करी : सीमामा १०० रुपैयाँको सामानमा भने कडाइ यथावत्

झापा ।  झापाको भद्रपुर–३ स्थित मेचीपारि गाउँबाट प्रहरीकै संरक्षणमा चिनियाँ फर्सीको बिउ तस्करी भइरहेको पाइएको छ। सरकारले भारतबाट १०० रुपैयाँ बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने प्रावधानलाई सीमामा कडाइ गरिरहेका बेला मेचीपारिबाट भने सुरक्षाकर्मीकै सेटिङमा ठूलो परिमाणमा बिउ तस्करी भइरहेको स्रोतको दाबी छ।

यसअघि जिल्लाकै गौरीगन्ज नाकाबाट तस्करी हुँदै आएको चिनियाँ फर्सीको बिउ अहिले भद्रपुर नाकातर्फ सरेको हो। जिल्ला प्रहरी कार्यालय झापामा एसपी वसुन्धरा खड्का आएपछि गौरीगन्ज नाकाको तस्करी ठप्प भएको थियो। त्यसअघि नै कारोबारीहरूले १० कन्टेनर बिउ झापा ल्याइसकेका थिए। ८ कन्टेनर दमकको गोदाममा र २ कन्टेनर गौरीगन्ज पुर्‍याइए पनि चुनावको माहोल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को कडाइका कारण त्यहाँ बिउ थन्किएको थियो।

गौरीगन्ज नाका बन्द भएपछि कारोबारीले सुरुमा कचनकवलको पाठामारी र केचना नाका रोजेका थिए। तर, त्यहाँ भारतीय एसएसबीले ‘लाइन’ दिन अस्वीकार गरेपछि उनीहरूले भद्रपुरको मेचीपारि गाउँलाई नयाँ केन्द्र बनाएका हुन्। त्यसपछि भद्रपुर–५ स्थित बसपार्क छेउका दुईवटा गोदाममा बिउ ल्याएर झारिएको स्रोतले जनाएको छ।

यसरी हुन्छ ‘सेटिङ’
भारतीय एसएसबीसँग कुरा मिलेपछि भद्रपुरका कारोबारी समूहले सशस्त्र प्रहरी बल (बीओपी)का सई देवराज पराजुली र मेचीपारि प्रहरीचौकीका असई आमाचु राजवंशीसँग सेटिङ मिलाएको दाबी गरिएको छ। समय अनुकूल मिलाएर रातको समयमा ट्र्याक्टरमा बिउ लोड गरी मेचीपारि पुर्‍याउने गरिएको छ, जहाँ स्थानीय ‘मोहन’ भनिने व्यक्तिले भारत पठाउन सहयोग गर्छन्।

कारोबारीले बिउ भारत पठाएबापत प्रतिकिलो २४ रुपैयाँ कमिसन पाउँछन्। ४० किलोको एक बोरा पार गराउँदा ९६० रुपैयाँ कमिसन आउँछ। नेपालमा १२ सयदेखि १५ सय रुपैयाँ प्रतिकिलो पर्ने यो बिउ अहिलेसम्म ठूलो परिमाणमा तस्करी भइसकेको छ।

कारबाहीको नाटक
गत वैशाख ५ गते मध्यरातमा तस्करीको सूचना माथिल्लो निकायमा पुग्न लागेको थाहा पाएपछि सई पराजुली र असई राजवंशीले कारबाहीको ‘नाटक’ समेत रचेका थिए। भारत लैजान तयार पारिएको ६० बोरा बिउमध्ये करिब ३० बोरा नियन्त्रणमा लिइएको थियो। तर, सेटिङका कारण प्रहरीले कारोबारीलाई नै फाइदा हुने गरी काम गर्‍यो। जागिर जोगाउन सर्तबमोजिम नेपाल प्रहरीलाई ९ बोरा, सशस्त्रलाई ३ र एसएसबीलाई ३ गरी जम्मा १५ बोरा मात्र जिम्मा लगाइयो भने बाँकी बिउ सोही रात भारत छिराइयो।

प्रहरीले बरामद गरेको ९ बोरा बिउको मूल्यसमेत प्रतिकिलो मात्र २५० रुपैयाँ कायम गरी ९१ हजारमा भद्रपुर भन्सार बुझाइएको छ, जुन बजार मूल्यभन्दा निकै कम हो। उक्त घटनापछि पनि केही दिन सोही नाकाबाट तस्करी जारी रह्यो। मेचीपारिमा हल्ला बढेपछि अहिले कारोबारीहरू भद्रपुर–३ कै सन्थाल बस्ती र किचकबध नाकातर्फ सरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका एसपी अम्बिकाप्रसाद जोशीले भने मेचीपारिबाट बिउ तस्करी भइरहेबारे आफूलाई जानकारी नभएको बताएका छन्। उनले भने, ‘बिउ तस्करी भइरहेको बारे इन्चार्जहरूसँग बुझ्नेछु। यदि, संलग्नता देखिएमा विभागीय कारबाही गर्छौं।’ उनले अहिले जिल्लाका सीमा नाकाबाट तस्करी ठप्प रहेको दाबीसमेत गरे।

सम्बन्धित समाचार