सुनसरीका विभिन्न ठाउँमा 'बर्डफ्लु' पुष्टि
सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिकाका ६ वटा तथा दुहवी नगरपालिका र गढी गाउँपालिकाका एक/एक गरी जिल्लाका आठ वटा कृषि फार्ममा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवा सुनसरीका प्रमुख डा मनोजकुमार महतोले बताए।
उहाँका अनुसार इटहरी–१९ स्थित ओकेओ कृषि प्रालिमा रहेका ११ हजार २० कुखुरा र ११ हजार ३०० अण्डा नष्ट गरिएको छ । यस्तै, गढी गाउँपालिका–५ को सञ्जित कृषि फार्ममा ४२१, इटहरी–११ को आलम कृषि फार्ममा ५५०, इटहरी–१८ को रानी कृषि फार्ममा एक हजार ९३० (लेयर्स र गिरिराज) तथा इटहरी–१७ को लक्ष्मी पोल्ट्री फार्ममा ५१० कुखुरा र ५२० अण्डा नष्ट गरिएको छ।
यसैगरी, इटहरी–१९ को प्रभु कृषि फार्म, दुहवीस्थित सुनसरी कृषि फार्म र इटहरी–१८ को साझा ह्याचरीमा पनि सङ्क्रमण देखिएको छ।
सङ्क्रमण नियन्त्रणका लागि पक्षीजन्य वस्तुको आयातनिर्यातमा नियन्त्रण गरिएको र प्रभावित क्षेत्रमा कुखुरा तथा अण्डाको बिक्री वितरणमा रोक लगाइएको डा. महतोले जानकारी दिए। हालसम्म फार्म सञ्चालकले बाह्य आयात नगरेको बताए पनि अण्डा तथा दाना ढुवानी गर्ने सवारीसाधनबाट सङ्क्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ।