सन्थाल गोल्डकपको लोगो सार्वजनिक
बिर्तामोड । सन्थाल गोल्डकप–२०८२ को लोगो सार्वजनिक गरिएको छ । फागुन २८ गतेदेखि हुन गइरहेको गोल्डकपको सोमबार लोगो सार्वजनिक गरिएको हो ।
सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोड–६ ले आयोजना गरेको गोल्डकपको लोगो सार्वजनिक गरिएको छ । गोल्डकप आयोजकले सोही अवसरमा कार्यालय समेत उद्घाटन गरेको छ ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामा र जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले लोगो सार्वजनिक गरेका हुन् । उनीहरूले संयुक्त रुपमा कार्यालय समेत उद्घाटन गरेका छन् ।
सन्थाल गोल्डकपमा झापाका ५, मोरङको एक र भारतको दुईवटा टिम सहभागी हुनेछन् । भद्रपुरस्थित मेची रंगशालामा हुने गोल्डकपको विजेताले नगद १ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद ६० हजार र ट्रफी प्राप्त गर्ने गोल्डकपका संयोजक टीका हस्दाले जानकारी दिए । उनका अनुसार पहिलोपटक सन्थाल समुदायको बीचमा गोल्डकप आयोजना गरिएको हो ।