कोशीमा मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेस-एमालेका ५-५ नयाँ मन्त्री नियुक्त
कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल हेरेफेर गरेका छन्।
सबै मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाएर नयाँ मन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहारलाई सरकारमा सहभागी गराएका हुन् ।
मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । नयाँ मन्त्रीमण्डलमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच भागबण्डा मिलाइएको छ। सरकारमा दुवै दलबाट ४–४ जना मन्त्री र १–१ जना राज्यमन्त्री बनाइएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा भीम पराजुली, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा तिलचन पाठक, आन्तरिक मामिला तथा कानुन मन्त्रालय इन्द्रमणि पराजुलीले पाएका छन्।
आर्थिक मामिला तथा योजना मन्त्रालय विदुरकुमार लिङ्थेपले, सामाजिक विकास मन्त्रालय रामप्रसाद महतोले, स्वास्थ्य मन्त्रालय मानबहादुर लिम्बूले, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा इसाइल मन्सुरीले जिम्मेवारी पाएका छन्। शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम विनाविभागीय राज्यमन्त्री नियुक्त भएका छन्।