मेचीनगरमा हात्तीले घर भत्काउँदा ४ लाख बढीको क्षति
मेचीनगर । प्रत्येक रातको समयमा आउने हात्तीले स्थानीयको भौतिक पूर्वाधार घर, ग्वालीमा क्षति पुर्याउँदा स्थानीयवासी आतङ्कित बन्दै आएका छन् । गएराति जंगली हात्तीले झापाको मेचीनगर-१४ प्रगति टोलस्थित मनोज भट्टराईको घर भत्काउँदा चार लाख बढीको क्षति भएको छ ।
हात्तीले ट्रष्ट लगाएको घरको पाँच वटा वाल भत्काएको छ भने त्यहाँ बस्दै आएका प्रकाश कटुवालको भान्सा घर र सामाग्री पूर्ण रुपमा क्षति पुर्याएको छ । मध्य राति आएको दाह्रे हात्तीले घरको बाल भत्काएको थियो । घरको चारैपट्टीको बाल भत्काएर सामाग्री नष्ट गर्दा ४ लाख २० हजार मूल्य बराबरको क्षति भएको मनोज भट्टराईले जानकारी दिए ।
उनका अनुसार ट्रस्ट लगाएको पाँच वटा पर्खाल, २ वटा झ्याल र २ वटा ढोका भत्काउँदा करिब ३ लाख बराबरको क्षति पुगेको छ भने त्यहाँ बस्दै आएका कटुवालको भान्सा घर, त्यहाँ प्रयोग गरिँदै आएको सामाग्री र रासन पूर्ण रुपमा क्षति गर्दा १ लाख २० हजार मूल्य बराबरको धनमाल क्षति भएको हो । ब्याज मराउनी लगानीमा चार वर्ष यता कटुवाल परिवार उक्त घरमा बस्दै आएका थिए । क्षतिको विवरण र राहतका लागि प्रहरीकहाँ निवेदन गरेको पीडित भट्टराईले जानकारी दिए ।