एनपीएलमा आज विराटनगर र चितवन भिड्ने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबार विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे शुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ।
दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो। दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो।
विराटनगर सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ। यता, पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो । यस्तै मंगलबारको खेलमा काठमाण्डू गुर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको छ।