२०८२ मंसीर १२ गते , शुक्रबार

झापामा बेमौसमी वर्षाले धानबालीमा ७८ करोड रुपैयाँको क्षति

sajilo news
झापा
२०८२ कार्तिक १९ गते , बुधबार
झापामा बेमौसमी वर्षाले धानबालीमा ७८ करोड रुपैयाँको क्षति

कात्तिक १५ देखि १७ गतेसम्मको लगातार वर्षाले झापामा लगाइएका धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरका अनुसार झापामा ४ हजार ३६४ हेक्टर क्षेत्रफलमा रहेका धानबाली बेमौसमी वर्षाले प्रभावित भएका छन्।

निर्देशनालयका तथ्याङ्कअनुसार झापामा करिब २१ हजार ८२० मेट्रिक टन धान नोक्सान भएको छ। जसको मूल्य अनुमानित ७८ करोड ११ लाख ५६ हजार रुपैयाँ बराबर छ।

कोशी प्रदेशका अन्य जिल्लाहरूमा पनि ठूलो असर परेको छ। मोरङमा ३ हजार ४२१ हेक्टरमा ५८ करोड रुपैयाँभन्दा बढीको, र सुनसरीमा २ हजार ८५१ हेक्टरमा ४५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको निर्देशनालयले जनाएको छ।

प्रदेशभरि गरी २ अर्ब ५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको धान र तरकारी बाली नष्ट भएको अनुमान गरिएको छ। तरकारी मात्रको क्षति करिब ४ करोड रुपैयाँ बराबर छ।

सुनसरी, मोरङ र झापा सबैभन्दा बढी प्रभावित जिल्ला मानिएका छन् भने इलाम, पाँचथर, धनकुटा र ताप्लेजुङलगायतका पहाडी जिल्लाहरूमा पनि थोरै–थोरै क्षति पुगेको छ।

निर्देशनालयका सूचना अधिकारी पूर्णमाया गुरुङका अनुसार, “यी बालीहरू अधिकांशमा बीमा नभएकाले किसानहरू प्रत्यक्ष आर्थिक संकटमा परेका छन्।” किसानहरूले भने सरकारसँग राहत र क्षतिपूर्तिको तत्काल माग गरेका छन्।

सम्बन्धित समाचार