अर्जुनधारामा एमालेको शक्ति प्रदर्शन
बिर्तामोड । संसद् पुनर्स्थापनाको माग गर्दै मंगलवार झापाको अर्जुनधारामा बृहत् मोटरसाइकल र्याली सम्पन्न भएको छ । झापाको अर्जुनधारा – ६ स्थित महानन्दचोकदेखि खुदुनावारीसम्म मोटरसाइकल ¥याली गर्दै खबरदारी गरिएको हो ।
नेकपा एमाले अर्जुनधारा र राष्ट्रिय युवा संघ नेपाल अर्जुनधाराको अगुवाइमा खबरदारी गरिएको हो । ‘असंवैधानिक सरकार मुर्दावाद, विदेशी दलाल होसियार, विगठित संसद् पुनर्स्थापना गर’ लगायतका नारा लगाउँदै एमालेले आयोजना गरेको र्यालीले शनिश्चरे चोक र खुदुवारीमा कोणसभा गरेको हो । कोणसभा अनेरास्ववियुका कोशी प्रदेश संयोजक नारायण पोखरेल र नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले सम्बोधन गरेका थिए ।
यो सरकार असंवैधानिक भएकाले संसद् पुनर्स्थापना हुनुपर्ने अध्यक्ष गिरीको भनाई थियो । उनले संसद् पुनर्स्थापना गरेर मात्रै मुलुकलाई निकास दिन सकिने बताए । एमाले कहिले पनि निर्वाचनबाट भाग्दैन, जनताको परीक्षामा सरिक हुन सधैँ तयार छ, गिरीले भने – तर यो सरकारले निर्वाचनको वातावरण बनाउनै सक्दैन । लुटिएका हतियार र जेलबाट भागेका कैदीवन्दी नियन्त्रणमा नलिएसम्म निर्वाचन संवभ छैन ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई हाइजेक गरेर देशलाई खरानी बनाएकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्र प्रेमीहरू एक हुनुपर्ने बताएका छन् । अध्यक्ष गिरीले जेनजी पुस्ताको मागप्रति सधैँ सकारात्मक रहेकोले संविधान विरोधी गतिविधि प्रति सजग रहन आग्रह गरे ।
नेकपा एमाले अर्जुनधारा नगर कमिटी अध्यक्ष बिर्ख प्रधानले शान्तिपूर्ण समाज निर्माणका लागि सबैलाई अपील गरेका छन् । उनले जेनजीको माग जायज भएको बताउँदै घुसपैठ गरेर अपराध गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । कानुनी दायरामा नल्याएसम्म जनतामा त्रास भइरहेको बताए । अर्जुनधारा अघि बिर्तामोड र दमकमा ¥याली आयोजना गरिएको थियो ।