२०८२ मंसीर १२ गते , शुक्रबार

जेनजी र एमाले मुठभेडको मुडमा

sajilo news
पत्रपत्रिका
२०८२ आश्विन २३ गते , विहीबार
जेनजी र एमाले मुठभेडको मुडमा

काठमाडौं । जेनजी आन्दोलनको नेतृत्वकर्ताहरूसँग मुठभेडको मुडमा नेकपा एमाले पुगेको देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई २ असोजमा भक्तपुर भित्र्याएर ३ असोजमा सार्वजनिक गरेदेखि नै ओलीको नेतृत्वमा उभिएको एमालेले जेनजीसँग प्रतिकार र बदलाभाव बोकेको गतिविधिबाट देखिएको छ ।

नेकपा एमालेले अगाडि सारेका गतिविधिमा युवा तथा विद्यार्थी मोर्चालाई सक्रिय बनाएर २३ र २४ भदौमा भएको आन्दोलनलाई विध्वंशका रूपमा स्थापित गर्दै त्यसको भण्डाफोर र प्रतिकारको भित्री योजना निर्माण गरेको खुलेपछि मुठभेडको आशंका गरिएको छ ।

एमालेनिकट युवा विद्यार्थी र जेनजी आन्दोलनबाट चिनिएका युवाहरूको समूहका बीचमा जुनसुकै बेला जहाँसुकै मुठभेड हुनसक्ने र त्यो हिंसात्मक हुनसक्ने सूचना सुरक्षा निकायले पाएपछि सुरक्षा सतर्कतासमेत बढाइएको छ ।

युवासंघबाट उदाएर तत्कालीन वाईसीएलसँग भिडेर स्थापित भएका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पटकपटक पत्रकार सम्मेलनदेखि युवा प्रदर्शन गरेर त्यसको संकेत दिएको सुरक्षा सम्बद्ध स्रोतको विश्लेषण छ । बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र जेनजी युवाहरूलाई लक्षित गर्दै बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन नै गरेर सरकारलाई चुनौती दिएका छन् ।

२३ भदौको प्रदर्शनमा गोली चलाएर निर्दोष युवाहरूको हत्या गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहितलाई तत्काल पक्राउ गर्न माग गर्दै जेनजी अगुवा सुदन गुरुङले मंगलबार काठमाडौं प्रहरीमा जाहेरी बुझाए । प्रहरीले जाहेरी दर्ता गरी उच्चस्तरीय छानबिन आयोगमा उजुरी पठाउने निर्णय गरेसँगै एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालको नेतृत्वमा गएको टोलीले बालेन र सुदनका विरुद्धमा जाहेरी बुझाएका छन् । मंगलबार नै नेपाल प्रहरीलाई बुझाएको जाहेरीमा बालेन र सुदनलाई सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्न उक्साएको तथा नेतृत्व गरेको आरोप लगाइएको छ ।

जेनजीका तर्फबाट एमाले अध्यक्ष ओलीलक्षित गतिविधि हुने भएपछि एमालेनिकट युवाहरूले गरेको जवाफी तयारीले मुठभेडको बाटो लिएको विश्लेषण हुन थालेको हो । ओलीलाई पक्राउ वा जुनसुकै किसिमको आक्रमण भए आफूहरू ज्यान दिन तयार भएको भन्दै एमाले युवा नेताहरूले सार्वजनिक चेतावनी दिइरहेका छन् ।

एमालेनिकट युवासंघका अध्यक्ष क्षितिज थेवे, युवा नेता मंगल थापालगायत ३ सयभन्दा बढी युवाले गुन्डुमा जेनजी प्रतिकार कार्ययोजना नै बनाइरहेको सूचना सुरक्षा स्रोतमा आइपुगेको बताइएको छ । सम्भावित मुठभेडलाई लिएर सुरक्षा सतर्कता अपनाइए पनि गृहमन्त्रीले भने ‘जेनजी आन्दोलनको भावनाअनुसार अघि बढ्न तपाईंहरूलाई के अप्ठेरो छ ?’ भन्दै दबाब बढाइरहेको सूचना बाहिरिएपछि मुठभेडको वातावरण बढेको आशंका गरिएको छ ।  यो खबर राजधानी दैनिकमा छ । 

सम्बन्धित समाचार