२०८२ आश्विन २० गते , सोमबार

झापामा २०७४ सालयता कै ठूलो बाढी, ३५ सय परिवारका हजारौं मानिस विस्थापित

sajilo news
पार्थ मण्डल
२०८२ आश्विन २० गते , सोमबार
झापामा २०७४ सालयता कै ठूलो बाढी, ३५ सय परिवारका हजारौं मानिस विस्थापित

झापा । अविरल वर्षापछि आएको बाढीले झापामा यस वर्ष बितन्डा मच्चाएको छ। जिल्लाका ठूला नदीहरूमा २०७४ सालभन्दा पनि ठूलो बाढी आउँदा यस वर्ष करिब ३५ सय घरधुरीका १२ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।  

शनिबार र आइतबार इलाम र झापामा १५० मिलिमिटरभन्दा बढी पानी पर्दा कनकाई माई र मेची नदीले खतराको लेभल नै पार गरेको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार कनकाईको जलस्तर ५.६१ मिटर पुगेको थियो। कनकाईको सचेतना स्तर ३.८ मिटर र खतरा स्तर ४.३ मिटर हो। कनकाईको जलस्तर २०७४ सालमा ५.४ मिटर पुगेकोमा यस वर्ष त्यसलाई समेत नाघ्दा क्षति धेरै भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए। 

त्यस्तै, मेची नदीको जलस्तर ११४.८४ मिटर पुगेको थियो। मेचीको सचेतना ११३.८ मिटर र खतरा स्तर ११४.३ मिटर हो। ०७४ सालभन्दा पनि भयावहको अवस्था देखियो, सभापति ढकालले भने, ‘झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका मानिस सबैभन्दा बढी विस्थापित भएका छन्।’ 
कनकाई माई नदीमा आएको बाढी तटीय क्षेत्रका बस्तीहरू छिर्दा त्यहाँका सयौं घर डुबान परेको छ। झापा गाउँपालिका १, २ र ७ वडाका मात्रै करिब १५ सय घरका ६ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। 

झापा १ मिलन बस्तीका ८० घरका २ सय मानिसलाई नेपाली सेनाको हेलिकप्टर र चारवटा बोटले उद्धार गरी सुरक्षित स्थानमा सारिएको उनले बताए। ‘झापा गाउँपालिकामा जता त्यतै पानी नै पानी छ, घरहरू डुबानमा परेको छ, यहाँ ठूलै भौतिक क्षति भएको छ,’ उनले थपे।  बाढी कारण शिवसताक्षी नगरपालिका–४ का ७ घर, शिवसताक्षी–५ का ५ घर, शिवसताक्षी–६ का २७ घर, शिवसताक्षी–७ का ८ घर, गौरीगञ्ज गाउँपालिका–१ का १४४ घर, अर्जुनधारा नगरपालिका–७ का एक घर विस्थापित भएका छन्। 

त्यस्तै गौरीगञ्ज गाउँपालिका–२ का पिण्डलघुटु २१ घर, गौरीगञ्ज–२ आपगाँछीका २१ घर, गौरादह–५ कटकपुर सुकुम्बासी बस्तीका ३१ घर, भद्रपुर नगरपालिका–५ देवीबस्तीका १२ घर, भद्रपुर–५ राई टोलका १५ घरका मानिस विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

उनका अनुसार अहिलेसम्म एक जना पुरुष मृत अवस्था भेटिएको छ। कनकाई नगरपालिका–४ कोटीहोमस्थित कनकाई माई खोलाको बीच भागको डिलमा अन्दाजी ६०/६५ वर्षको पहाडी मूलको जस्तो देखिने तत्काल नाम थर वतन नखुलेको पुरुष मृत अवस्थामा फेला परेको हो। उनको सनाखत हुन बाँकी रहेको उनले बताए। बाढी प्रभावित क्षेत्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र रेडक्रसकर्मीहरू उद्धार तथा राहत कार्यमा जुटेको उनको भनाइ छ। 

तटबन्ध कटान गर्दा करिब ११ करोडको क्षति
 कनकाई नदीले गौरीगञ्ज गाउँपालिका–२ अन्तर्गत हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्ध कटान गरेको छ। तटबन्ध कटान गर्दा होकलबारी गाउँको करिब ११४ घरबारी डुबानमा परेको छ भने ५०० हेक्टर धान खेतमा क्षति भएको छ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार १ हजार ५०० मिटर तटबन्ध कटान गर्दा करिब १० करोड बराबरको क्षति भएको जनाएको छ। 

त्यस्तै झापा गाउँपालिका–२ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टर जग्गामा क्षति भएको छ। यसबाट अनुमानित ७५ लाख रुपैयाँ क्षति भएको छ। मेची नदीले ठाउँ–ठाउँमा रहेका स्परहरू भत्काउँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति मन्त्रालयले जनाएको छ। 

डाइभर्सन बगाउँदा एसियन हाइवे अवरुद्ध
अविरल वर्षाका कारण झापाअन्तर्गतको निर्माणाधीन पूर्व–पश्चिम एसियन हाइवे अवरुद्ध भएको छ। शिवसताक्षी नगरपालिका–१० मा रहेको भालु खोलाको डाइभर्सन  र मेचीनगर नगरपालिका–६ स्थित कालीखोलामा कल्भर्ट बगाउँदा एसियन हाइवे अवरुद्ध भएको हो। शनिबार रातिदेखि अवरुद्ध भएको हाइवे अझै सुचारु भएको छैन। दिनभरि हाइवे बन्द हुँदा ठूला सवारीसाधन चल्न सकेको थिएन।

भालु खोलामा आएको पानीले साइडको माटो कटान गरेपछि बाटो अवरुद्ध भएकाले सवारी साधनलाई वैकल्पिक बाटो शिवसताक्षी–९ हुँदै माईधार निस्कने गरी सुचारु गर्न काम भइरहेको छ। भालु खोलामा करिब ३० मिटर र कालीखोलामा करिब १५ मिटर वास आउट भएको काँकडभिट्टा– लौकही सडक आयोजना पूर्वी खण्डले जनाएको छ।

सम्बन्धित समाचार