माओवादी केन्द्रीय कमिटी विघटन, मंसिरभित्र महाधिवेशन गर्ने

माओवादी केन्द्रले वर्तमान केन्द्रीय समिति भंग गरी आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकले महाधिवेशन आयोजक समितिका संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । मौजुदा केन्द्रीय सदस्य आयोजक समितिका सदस्य हुनेछन् । महाधिवेशन आयोजना र पार्टीको दैनिक कामकाजका लागि मौजुदा पदाधिकारी रहेको सचिवालय निर्माण गरिने प्रवक्ता सापकोटाले जानकारी दिए ।
महाविधेशनमा जेन–जी युवाको अधिकतम सहभागिताका लागि वातावरण तयार गरिने प्रवक्ता सापकोटाले बताए । माओवादीले पार्टी नेताको सम्पत्ति विवरण छानबिनका लागि आयोग गठन गर्ने निर्णय गरेको छ । बैठकले पदाधिकारीबाटै सम्पत्ति छानबिन सुरु गर्ने निर्णय गरेको छ । बैठकले केन्द्रीय कार्यालय, नेताको सचिवालय र परिवारको व्यवस्थापनमा नयाँ ढङ्गले सोच्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।