२०८२ आश्विन २१ गते , मंगलबार

नेताका सम्पत्तिमाथि छानबिन सुरु, संविधान संशोधन निर्वाचनपछि

sajilo news
पत्रपत्रिका
२०८२ आश्विन १० गते , शुक्रबार
नेताका सम्पत्तिमाथि छानबिन सुरु, संविधान संशोधन निर्वाचनपछि

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शासकीय स्वरूप परिवर्तनलगायतका संविधान संशोधनका मुद्दा आगामी २१ फागुनमा हुने निर्वाचनबाट निर्वाचित संसद्बाट हुने बताएकी छन् । जेनजी युवाहरूले आह्वान गरेको राजनीतिक परिवर्तनबाट आफू प्रधानमन्त्री नियुक्त भए पनि निर्वाचन गराउने म्यान्डेट भएका कारण अन्य विषयमा सरकारको कार्यक्षेत्र नभएको बताइन् ।

प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भनिन्, ‘नेपालको संविधान र शासकीय प्रणालीको संशोधनलगायत जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएकाले युवा पुस्तालगायत परिवर्तन पक्षधर आमनेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री कार्कीले निर्धारित मितिमा भयरहित, निष्पक्ष निर्वाचन सम्पन्न गराउन सम्पूर्ण पक्षको सहयोग आवश्यक भएको बताइन् । प्रधानमन्त्री कार्कीले देशबाहिर रहेका युवाहरूलाई मतदानको अधिकार दिन सरकारले निर्वाचन आयोगसँग परामर्श तथा सम्भावना अध्ययन गरिरहेको पनि बताइन् । सम्बोधनमा कार्कीले भनिन्, ‘रोजगारीको सिलसिलामा देशबाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशबाट समेत मतदान गर्नसक्ने सम्भावनाका ’boutमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ ।’

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तिनका हकहितको संरक्षण एवं गैरआवासीय नेपाली नागरिकले उठाएका संविधानसम्मत मागप्रति वर्तमान सरकार सकारात्मक रहेको उनले सम्बोधनका क्रममा बताएकी छन् ।

भ्रष्टाचारीलाई कारबाही, सम्पत्ति शुद्धीकरणमा छानबिन

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाहरूको माग र राष्ट्रको आवश्यकताअनुसार भ्रष्टाचारीलाई कारबाही गरिने दृढता दोहा¥याएकी छन् । सम्बोधनका क्रममा कार्कीले भनिन्, ‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रस्ट जानकारी पाइसकेको छ, यसको छानबिन गरी दोषीलाई कारबाही गरिनेछ, शंकास्पद र आन्दोलनका क्रममा आरोपितहरूको सम्पत्ति छानबिन हुनेछ ।’

कार्कीले सम्बोधनमार्फत जेनजी प्रदर्शनका क्रममा नेताका घरमा भेटिएका पैसा र अकूत सम्पत्तिका आधारमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु भएको संकेत गरेकी छन् । कार्कीले सम्बोधनकै क्रममा भनेकी छन्, ‘प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएका नगद रकमका सन्दर्भमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ ।’

जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री, मन्त्री तथा नेताहरूका घरमा जलेका नोटहरू भेटिएका दृश्य सामाजिक सञ्जालमा देखिएका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ती नोट संकलन गरी अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धान अघि बढेको कुरा कार्कीले सम्बोधनमार्फत पुष्टि गरिन् । यो खबर आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित समाचार