‘काल’ बन्दै निजी स्विमिङ पुलहरू, झापामा पाँच महिनामा तीनजनाको मृत्यु
अधिकांश पुलमा छैन लाइफगार्ड र सुरक्षा यन्त्र
झापा । होटल र व्यावसायिक प्रयोजनका लागि बनाइएका स्विमिङ पुलहरू असुरक्षित बन्दा सर्वसाधारणले अकालमै ज्यान गुमाइरहेका छन्। व्यवसायीले सरकारबाट सञ्चालनको अनुमति पाए पनि स्विमिङ पुलहरूको सम्बन्धित निकायले अनुगमन नगर्दा सर्वसाधारणहरू अकालमै ज्यान गुमाउन बाध्य छन्।
पाँच महिनाभित्र झापाका स्विमिङ पुलहरूमा पौडी खेल्न क्रममा एक भारतीय बालकसहित तीन जनाले ज्यान गुमाएका छन्। शुक्रबार बिर्तामोड–२ स्थित जयड्रिमल्याण्ड पार्कको स्विमिङ पुलमा डुबेर बिर्तामोड–३ निवासी ३३ वर्षीय व्यवसायी प्रकाश प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए।
व्यवसायी प्रसाईं बिर्तामोड–१० निवासी ३३ वर्षीय केशव शिवाकोटीसँग पार्कमा रमाइलो गर्न गएका थिए। सोही क्रममा पार्कको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर प्रसाईंको मृत्यु थियो। प्रसाईंले मादक पदार्थ सेवन गरी स्विमिङ गर्दासमेत पार्क व्यवस्थापन पक्षले त्यसतर्फ खासै चासो नदेखाउँदा उनको ज्यान गएको बताइएको छ। प्रसाईं ओमकार रेडिमिक्स कङ्क्रिट प्रालिका सञ्चालक थिए। घटनाको बारेमा इलाका प्रहरी कार्यालय बिर्तामोडले अनुसन्धान गरिरहेको छ।
त्यस्तै गत जेठ ३१ गते राति ८:३० बजेको समयमा अर्जुनधारा–६ माता मन्दिरनजिक रहेको सिएम स्विमिङ पुलमा पौडी खेल्दा खेल्दै एक जनाको मृत्यु भएको थियो। काठमाडौँ–१४ बाफल घर भई विगत दुई महिनादेखि बिर्तामोड बसपार्कमा बस्दै आएका ४० वर्षीय केशव पाठकको मृत्यु भएको थियो। स्विमिङ पुलमा पौडी खेल्दा खेल्दै उनी डुबेर सिकिस्त भएका थिए।
उनलाई तत्काल उद्धार गरेरसँगै रहेका साथीहरूले उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोडमा भर्ना गरे पनि चिकित्सकले मृत घोषणा गरिदिएका थिए। त्यसैगरी वैशाख १४ गते साढे ६ बजेको समयमा भद्रपुर नगरपालिका–८ एयरपोर्ट नजिक रहेको होटल उडल्याण्डको स्विमिङ पुलमा डुबेर एक भारतीय बालकको मृत्यु भएको थियो। मृत्यु हुनेमा भारत, विहार किसनगंज जिल्ला झरमगञ्ज टोल निवासी सचिन गोस्वामीका अन्दाजी ८ वर्षीय छोरा बिरु गोस्वामी रहेका थिए।
गोस्वामी स–परिवार भारतबाट नेपाल घुम्न आएका थिए। नेपाल आएका उनीहरू सोही होटलमा बसेको अवस्थामा बालक बिरु स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका थिए। बालकलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएकोमा साँझ ६:५३ बजे उपचारको क्रममा मृत्यु भएको थियो। झापाका स्विमिङ पुलहरूमा एकपछि एक घटना दोहोरिए पनि यसतर्फ स्थानीय प्रहरी, प्रशासनले अहिलेसम्म खासै चासो देखाएको छैन।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूले स्विमिङ पुल सञ्चालकहरूले सरकारले तोकेको मापदण्ड अनुसार लाइफगार्ड र सुरक्षायन्त्रहरू नराख्दा दुःखद घटनाहरू भइरहेकाले त्यसतर्फ प्रहरी, प्रशासन गम्भीर रहेको बताए। स्विमिङ पुलमा भएको घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै एसपी लिम्बूले भने, ‘व्यवसाय सञ्चालन गर्दा मापदण्ड त पूरा गर्नु पर्यो, त्यतिकै आफूखुसी व्यवसाय सञ्चालन गर्न पाइँदैन।’ जिल्लामा रहेका स्विमिङ पुलहरूको विवरण संकलनको काम भइरहेको छ। ‘अब अब छ्ट्टिै अनुगमन गर्छौँ,’ उनले थपे।
नेपालमा स्विमिङ पुल व्यवसाय दर्ताको लागि सरकारले नीति बनाए पनि त्यो प्रयोगमा आएको पाइन्। व्यावसायिक रुपमा स्विमिङ पुल सञ्चालनका लागि कम्पनी रजिस्टारको कार्यालय, आन्तरिक राजश्व कार्यालय, पर्यटन बोर्डमा दर्ता, स्थानीय तहबाट इजाजत पत्र, वातावरण तथा पानीको गुणस्तर मापन, स्वास्थ्य र सुरक्षा सम्बन्धी प्रमाणपत्र लिनुपर्ने हुन्छ। तर, यहाँ सञ्चालित स्विमिङ पुलहरूले सरकारले तोकेको स्वास्थ्य तथा सुरक्षाको मापदण्ड नै नअपनाउँदा सर्वसाधारण ज्यान गुमाउनु परेको छ। निजी स्विमिङ पुलहरूमा लाइफगार्ड, सुरक्षा यन्त्र, मानिटरिङ र रबर ट्यूबजस्ता जरुरी सुरक्षा उपकरणहरू राख्नु पर्ने व्यवस्था भएपनि त्यो राखेको पाइँदैन। ठूला भीडमा हरियो पानी, क्लोरिनको असन्तुलित प्रयोगले छाला र आँखा समस्याको जोखिम पनि उच्च छ। साथै पुलमा नियमित रुपमा पानी सफा नगर्दा अर्को समस्या पनि सर्वसाधारणले भोग्दै आएका छन्।
पर्यटन बोर्डबाट इजाजत लिएर स्विमिङ पुल सञ्चालन गरिए पनि झापा जिल्लामा कति वटा स्विमिङ पुल सञ्चालन भइरहेको छ, त्यसको आधिकारिक तथ्याङ्क नै छैन। पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाका अनुसार पर्यटन बोर्डमा दर्ता हुने प्रावधान रहेकोले जिल्लामा यसको यकिन तथ्याङ्क छैन। स्विमिङ पुलहरूको अनुगमन गर्ने निकाय पर्यटन कार्यालय नभएको बताउँदै उनले भने, ‘सीडीओ साबको नेतृत्वमा रहेको जिल्ला अनुगमन समितिले चाहिँ आवश्यकता बमोजिम अनुगमन गर्न सक्छ।’ जिल्लाका स्विमिङ पुलमा दुःखद घटनाहरू भइरहेकोले यसबारेमा पर्यटन बोर्डसँग समन्वय गरी अब अध्ययन सुरु गर्छौँ, उनले थपे। यता प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लाका स्विमिङ पुलहरूको अब छिट्टै अनुगमन गर्ने बताए।
घटना भएका स्विमिङ पुलहरूको अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिइसकेको बताउँदै प्रजिअ अधिकारीले भने, ‘अब जिल्लाका सबै स्विमिङ पुल सञ्चालकहरूलाई बोलाएर निर्देशन दिन्छौँ, निर्देशन नमान्नेलाई क्रमशः कारबाही गर्दै लैजाने छौँ।’
‘अकालमै कसैको ज्यान त जानु भएन नि सरकारले तोकेको मापदण्ड त पूरा गर्नु पर्यो,’ प्रजिअ अधिकारीले भने। जिल्लामा यकिन तथ्याङ्क नभएकोले पर्यटन कार्यालयसँग समन्वय गर्ने उनको भनाई छ।