२०८३ असार १ गते , सोमबार
बिर्तामोडको ग्रिनपार्क स्वीमिङ पुलमा डुबेर एकजनाको मृत्यु
झापा बिर्तामोडको ग्रिनपार्क कम्पाउन्डभित्र रहेको स्वीमिङ पुलमा डुबेर एकजनाको मृत्यु भएको छ । आज दिउँसो ३ बजे स्वीमिङ पुलमा बिर्तामोड-३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाईँ र बिर्तामोड-१० बस्ने ३३ वर्षीय केशव शिवाकोटी पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा प्रसाईँको डुबेर मृत्यु भएको हो ।
मृतक ओमकार रेडिमिक्स कङ्क्रिट प्रालिका सञ्चालक हुन् । आज राति ८ बजे स्वीमिङ पुल सञ्चालकले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएपछि प्रहरी टोली पुगी घटनाको बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड-२ मा जीवन ढुङ्गानाले सो स्वीमिङ पुल सञ्चालन गरेको हो ।