छोटा हात्तीको ठक्करबाट घाइते झापाका खतिवडाको मृत्यु
एक वर्ष दुई महिनाअघि छोटा हात्तीको ठक्करबाट घाइते भएका झापा कनकाई नगरपालिका-३ बस्ने ४५ वर्षीय भीष्म खतिवडाको आज बिहान मृत्यु भएको छ ।
उनले बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार गराई घरमै रहेर औषधी सेवन गरिरहेका थिए । बेला–बेलामा फलोअपमा अस्पताल जाँदै गरेकोमा आज बिहान १० बजे खतिवडाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
२०८१ असार १७ गते राति ८ः३० बजे कनकाई नगरपालिका-३ माछापुच्छ्रे बैङ्क अगाडी पूर्वपश्चिम राजमार्गमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे १च ६१७४ नम्बरको छोटा हात्तीले विपरीत दिशाबाट जाँदै गरेको मे ८ प १५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कनकाई- ३ बस्ने खतिवडा गम्भीर घाइते भएका थिए । सोही मोटरसाइकलमा पछाडि सवार कनकाई ४ बस्ने वर्ष ५२ वर्षीय दीपक सेढाई पनि घाइते भएका थिए । सेढाई उपचारपछि निको भएका थिए भने खतिवडा उपचारमै रहेका थिए ।
छोटा हात्ती र छोटा हात्ती चालक बिर्तामोड नगरपालिका-१० बस्ने ३१ वर्षीय सन्जोग खवासलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको थियो । छोटा हात्ती चालक खवास थुनामै रहेको प्रहरीले जनाएको छ ।