अपाङ्ग सरोकार केन्द्रलाई सहयोग गर्दै इक्यान झापाले मनायो वार्षिकोत्सव
बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले इक्यानको २९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ ।शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएकाहरूको संस्था इकयानले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरू गर्ने गरेको छ । यसैक्रममा झापाको अर्जुनधारा नगरपालिकास्थित कप्तानबारीमा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा सहयोग गर्दै संस्थाको वार्षिकोत्सव मनाएको हो ।
इक्यान झापाका अध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक उत्तरदायित्व (सीएसआर) संयोजक प्रकाश पराजुलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए ।
कार्यक्रममा इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेले संस्थाको २९ औं वार्षिकोत्सवको शुभकामना मन्तव्य राखेका थिए । अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्ण दुलालले सामाजिक संस्थाहरूको सहयोगमा अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र सञ्चालन गरिरहेको बताए ।
उनले अपाङ्गता भएका बालबालिकाको आवश्यकतालाई महसुस गर्दै इक्यान झापाले खानेपानी तान्ने मेसिन प्रदान गरेर सहयोग गरेको भन्दै धन्यवाद दिए । कार्यक्रमको सञ्चालन इक्यान झापाका सचिव अशोक भण्डारीले गरेका थिए । कार्यक्रममा इक्यान झापाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । इक्यान झापाले वार्षिकोत्सवको अवसरमा बर्सेनि विभिन्न कार्यक्रम गर्दै आएको छ ।