२०८२ मंसीर १२ गते , शुक्रबार

एनआइसीयुको उपकरण १२ वर्षदेखि प्रादेशिक अस्पताल भद्रपुरमा थन्कियो

जनशक्ति अभावले सेवा सञ्चालनमा समस्या : निमित्त मेसु

sajilo news
पार्थ मण्डल
२०८२ भाद्र १० गते , मंगलबार
एनआइसीयुको उपकरण १२ वर्षदेखि प्रादेशिक अस्पताल भद्रपुरमा थन्कियो

झापा । प्रादेशिक अस्पताल भद्रपुरमा जनशक्तिको अभावले विगत १२ वर्षदेखि (नवजात सघन हेरचाह इकाई) एनआइसीयु सञ्चालनका प्राप्त स्वास्थ्य उपकरण त्यतिकै थन्काइएको छ। 

केन्द्रीय सरकारबाट प्रदेश सरकार मातहत ल्याई मेची अस्पतालबाट प्रादेशिक अस्पताल भद्रपुर नामकरण गरेको बर्सौँ बितिसक्दा पनि एनआइसीयु सेवा सञ्चालन आउन सकेको छैन। प्रसूति गराउन अस्पताल पुग्ने गरेका गरिब तथा विपन्न परिवार चर्को शुल्क तिर्न निजी अस्पताल रेर्फर हुनुपर्ने बाध्यता छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७० सालमा नवजात शिशुको उपचारलाई सहज पुर्‍याउने उद्देश्यले एनआइसीयु सञ्चालनका लागि दुई चरणमा गरी स्वास्थ्य उपकरण उपलब्ध गराएको थियो। चार बेडको एनआइसीयु सञ्चालनको उपकरण १२ वर्षदेखि प्रयोगमा आउन सकेको छैन। त्यस अवधिमा अस्पताल प्रशासनले हेर्न ६ जना निमित्त मेडिकल सुपरिटेन्डेन्ट फेरबदल भइसकेका छन्। 

वर्षौँदेखि अस्पतालको गोदाममा थन्किएको उपकरणलाई प्रयोगमा ल्याउन अस्पतालको पुरानो भवनमा रहेको नवजात शिशु वार्डको नजिकै कोठा व्यवस्थापन गरिसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले बताए। आफू भर्खरै निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएकोले गोदाम राखिएको स्वास्थ्य उपकरणहरूलाई प्रयोगमा ल्याउने काममा लागि परेको बताउँदै डा. गुप्ताले भने, ‘कोठाको व्यवस्थापन भई उपकरणहरू राखिसकेका छौँ, एनआइसीयुको इन्चार्ज पनि नियुक्त गरिसकेका छौँ।’ 

जनशक्ति अभावका कारण एनआइसीयु सेवा सञ्चालनमा ल्याउन समस्या भइरहेको छ। ‘जनशक्तिका लागि कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई दुई पटक पत्राचार गरिसकेका छौँ। भद्रपुर नगरपालिकालाई पनि जानकारी गराइसकेका छौँ। भर्खरै पूरानोबाट जीर्ण भवनबाट नयाँ भवनमा अधिकांश सेवाहरू सारिसकेका छौँ।  अब जसरी पनि एनआइसीयु सेवा सञ्चालन गरी छाड्छौँ। त्यसका लागि अस्पतालको सञ्चालन तथा व्यवस्थापन समितिसहित सबै निकायसँग समन्वय र सहकार्य गरिरहेको छु,’ डा. गुप्ताले भने। 

चार बेडको एनआइसीयु सञ्चालनका लागि तीन जना बाल रोग विशेषज्ञ, १० जना नर्सिङ स्टाफ, चारजना कार्यालय सहयोगी र चार जना सुरक्षा गार्ड चाहिन्छ। अस्पतालमा चारजना बाल रोग विशेषज्ञ डाक्टर छन्। ‘नर्सिङ स्टाफ, कार्यालय सहयोगी र सुरक्षा गार्ड नियुक्त भएसँगै सात दिनभित्र एनआइसीयु सेवा सञ्चालनमा आउँछ,’ उनले थपे। 

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. टंकप्रसाद बाह्रकोटि र डा. पीताम्बर ठाकुरको पालामा गरी दुई चरण एनआइसीयुको उपकरण आएको थियो। डा. बाह्रकोटि अहिले स्वास्थ्य सेवा विभागको महानिर्देशक हुन्, भने डा. ठाकुर अवकाश भइसकेका छन्। २०७६ सालमा डा. ठाकुरले पनि एनआइसीयु सेवा सञ्चालनका लागि प्रयास गरेका थिए।
 
पुरानो भवनको ल्याब रिपोर्ट बनाउने नजिकैको कोठा व्यवस्थापन गरी एनआइसीयु सेवा सञ्चालनका लागि लगभग तयारी भइसकेको थियो। तर, विडम्बना कोभिड–१९ (कोरोना भाइरस) नेपालसहित विश्वभर फैलियो। कोभिड–१९ फैलिएपछि सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन लगाउँदै अस्पतालहरूमा तत्काल पिसिआर ल्याब सञ्चालन ल्यायो। 

कोठाको अभावले अस्पताल प्रशासनले एनआइसीयुकै कोठालाई पिसिआर ल्याब बनाउनु पर्‍यो। र, एनआइसीयु सेवा स्थगित भयो। जनशक्ति अभावका कारण देखाउँदै त्यसपछिका मेडिकल सुपरिटेन्डेन्टहरूले एनआइसीयु सेवा सञ्चालनमा खासै चासो नै देखाएन। एनआइसीयुका उपकरणहरू त्यतिकै गोदाममा थन्काएर राखिदियो।  

सम्बन्धित समाचार