२०८३ असार २ गते , मंगलबार

'लिजा' मा सूर्योदय नगरपालिका कोशी प्रदेशमै पहिलो

sajilo news
झापा
२०८२ भाद्र ८ गते , आईतबार
'लिजा' मा सूर्योदय नगरपालिका कोशी प्रदेशमै पहिलो

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा इलामको सूर्योदय नगरपालिका कोशी प्रदेशमै पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को नतिजा अनुसार स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको आधारमा ९० दशमलव ५० अङ्कसहित सूर्योदय नगरपालिका कोशी प्रदेशका एक सय ३७ पालिका मध्ये पहिलो भएको हो ।
नतिजा अनुसार सूर्योदय नगरपालिका इलामका १० पालिकामध्ये पहिलो तथा देशका सात सय ५३ पालिकामा छैटौँ स्थानमा परेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व. २०८०/०८१ को नतिजाको गुणस्तर परीक्षण गर्दा सूर्योदय नगरपालिकाले शासकीय प्रबन्धमा ९, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८ दशमलव ५०, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १३ दशमलव ५०, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा ११, सामाजिक समावेशीकरणमा ९, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८, सहकार्य र समन्वयमा ५ दशमलव ५० अङ्क गरी जम्मा ९० दशमलव ५० अङ्क प्राप्त गरी जिल्ला तथा कोशी प्रदेशको पहिलो तथा देशकै छैटौँ स्थानमा पर्न सफल भएको छ ।
इलामकै इलाम नगरपालिका ९० अङ्कसहित कोशी प्रदेश तथा इलाम जिल्लाको दोस्रो भएको छ । त्यस्तै विराटनगर महानगरपालिका ८७ दशमलव २५ अङ्कसहित प्रदेशमा तेस्रो भएको छ ।
सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले सबै कामलाई दिगो विकासका लक्ष्यसँग जोडेर काम गर्दा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कन परीक्षणमा कोशीकै पहिलो हुन सफल भएको जानकारी दिएका छन् । उनले भने, ‘‘हामीले सबै कानुन कार्यविधि बनाएका छौँ, हामी कानुन कार्यविधिभित्र रहेर काम गर्छौ, यो सफलता त्यसैको हो ।’’

सम्बन्धित समाचार