भद्रपुर ६ नम्बर वडा कार्यालयले गर्यो श्रमिक, खेलाडी तथा कर्मचारीलाई सम्मान
भद्रपुर । भद्रपुर नगरपालिका ६ नम्बर वडा कार्यालयले श्रमिक, खेलाडी तथा कर्मचारीलाई सम्मान गरेको छ । वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सय दिने अभियानमा संलग्न वडाका २६ जना महिला श्रमिकलाई सम्मान गरिएको थियो ।
उनीहरूलाई १ १ थान साडी, खादा र खाजा वितरणसमेत गरिएको थियो । सो अभियानलाई स्थानीय सामाजिक व्यक्तित्व तथा मेची बहुमुखी क्याम्पसका सेवा निवृत्त सहप्राध्यापक कृष्ण मैनालीले सहयोग गरेका थिए । त्यस्तै अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित मिनी म्याराथन प्रतियोगितामा खाली खुट्टा नै दौडिएर १३ किलो मिटर दौड पूरा गरी छैटौँ भएकी भद्रपुर ६ का जमुना क्षेत्रीलाई नगद पाँच हजारसहित सम्मान गरेको थियो। त्यसैगरी वडाले उत्कृष्ट कर्मचारीहरू विजय माझी र शुक्रा हरिजनलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको थियो।
वडा अध्यक्ष रतिया राजवंशीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल प्रमुख अतिथि भएको कार्यक्रममा वडा अध्यक्षहरू हंसधर राजवंशी र रामबहादुर कँडेल, कार्यपालिका सदस्य सन्ध्या डंगोल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला र दाता कृष्ण मैनालीले शुभकामना मन्तव्य राखेका थिए । वडा सदस्य प्रकाश शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन वडा सचिव पदम पौडेलले गरेका थिए ।