भद्रपुरका क्लिनिक र ल्याब मापदण्ड विपरीत सञ्चालन, व्यवसायीलाई सचेत गराएर छाडियो छैन कारबाही
निताई आयुर्वेदिक उपचार केन्द्रमा एलोपेथिक औषधि बिक्री
झापा । झापाको सदरमुकाम भद्रपुरमा रहेका क्लिनिक र प्याथोलोजी ल्याब मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ। औषधि व्यवस्था विभागले फार्मेसी तथा स्वास्थ्य कार्यालयले प्याथोलोजी ल्याबहरूको कडाइका साथ अनुगमन तथा कारबाही नगर्दा स्वास्थ्य क्षेत्रमा पनि विकृति बढ्दै गएको पाइएको हो।
नगर क्षेत्रमा सञ्चालित क्लिनिक, औषधि पसल (फार्मेसी), ल्याब, डेन्टल तथा आयुर्वेदिक उपचार केन्द्रहरूको लामो समयदेखि अनुगमन नभएको र विकृतिसमेत बढेको जनगुनासोको आधारमा भद्रपुर नगरपालिकाले अनुगमन कार्यलाई तीव्रता दिएको छ। अनुगमनको क्रममा फार्मेसी व्यवसायीहरुबाटै सञ्चालन भइरहेको अधिकांश क्लिनिक तथा ल्याबहरूले सरकारले तोकेको मापदण्ड पूरा गरेको पाइएन। साथै बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्दै फार्मेसी सञ्चालकहरू काउन्टरमै म्याद गुज्रिएका औषधि राखेर बेच्ने गरेको फेला परेको छ।
प्रादेशिक अस्पताल अगाडि सञ्चालित ऋद्धिसिद्धी क्लिनिकले मापदण्ड विपरीत निजी क्लिनिक सञ्चालन गरिरहेको पाइएको छ। ऋद्धिसिद्धीले स्वास्थ्य संस्था सञ्चालन ऐन, २०७१ अनुसार सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा स्वास्थ्य मन्त्रालयमा दर्ता बिनै सञ्चालन गरेको अनुगमनको क्रममा फेला परेको छ। साथै तोकिएको शुल्क सार्वजनिक रूपमा नटाँसेको र नागरिक बडापत्र पनि नराखेकोले तत्काल कानुनी प्रक्रिया पूरा गर्न अनुगमन टोलीले सञ्चालकलाई निर्देशन दिएको छ।
त्यस्तै युनिक खरेल फार्मेसीले पनि मापदण्ड विपरीत निजी क्लिनिक सञ्चालन गरिरहेको पाइएको छ। साथै काउन्टरमै म्याद गुज्रिएको औषधि बिक्रीका लागि राखेको, नगरपालिकामा व्यवसाय दर्ता नगरेको, तोकिएको शुल्क सार्वजनिक रुपमा नटाँसेको र नागरिक बडापत्र नराखेको पाइएको छ। सृजना मेडिकल हलले क्लिनिक सञ्चालन दर्ता नवीकरण नगरी मापदण्ड अनुसार ओपिडी कक्ष नबनाएको अनुगमनको क्रममा फेला परेको छ। साथै नगरपालिकामा व्यवसाय दर्ता नगरेको, काउन्टरमै म्याद गुज्रिएको औषधि बिक्रीका लागि राखेकोसमेत फेला परेको छ।
त्यसैगरी भद्रपुर मेडिकल हलले नगरपालिकामा व्यवसाय दर्ता नगरेको र काउन्टरमै म्याद गुज्रिएको औषधि बिक्रीका लागि राखेको छ। एसएस मेडिकल सेन्टरले पनि काउन्टरमै म्याद गुज्रिएको औषधि बिक्रीका लागि राखेको अनुगमन टोलीले फेला पारेको छ। भद्रपुर–४ स्थित गोमा फार्मेसीले खाद्य वस्तु र भ्याक्सिनसँगै राखेको, क्लिनिक र फार्मेसीको साइन बोर्ड एउटै भएकोले तत्काल सच्चाउन अनुगमन टोलीले निर्देशन दिएको छ।
त्यस्तै प्रयुसी फार्मेसीले कुनै कानुनी प्रक्रिया पूरा नगरी आफूखुसी फार्मेसीले सञ्चालन गरिरहेको पाइएको छ। प्रयुसीले औषधि व्यवस्था विभागमा पसल दर्ता नगरेको, आधिकारिक बिक्रेता नराखेको, नगरपालिकामा व्यवसाय दर्ता नगरेको, डाक्टर नभएको साइन बोर्ड राखेको, मापदण्ड अनुसार ल्याब सञ्चालन नगरेको, र काउन्टरमै म्याद गुज्रिएको औषधि बिक्रीका लागि राखेको पाइएको छ।
भद्रपुर–५ स्थित पन्थ मेडिकलले काउन्टरमै म्याद गुज्रिएको औषधि बिक्रीका लागि राखेको र दर्ता नवीकरण नगरेको पाइएको छ।
भद्रपुर–६ स्थित राय मेडिकल हलले प्रयोग गरिरहेको फ्रिजमा भ्याक्सिनबाहेक अन्य औषधि राखेको र काउन्टरमै म्याद गुज्रिएको औषधि बिक्रीका लागि राखेको पाइएको छ। त्यसैगरी भद्रपुर– ५ स्थित शाहा क्लिनिकले मापदण्ड विपरीत दर्ता नगरी निजी क्लिनिक सञ्चालन गरेको, काउन्टरमै म्याद गुज्रिएको औषधि बिक्रीका लागि राखेको, तोकिएको शुल्क सार्वजनिक रुपमा नटाँसेको र नागरिक बडापत्र नराखेको पाइएको छ। भद्रपुर–५ स्थित भूमि मेडिकलले पनि मापदण्ड विपरीत दर्ता नगरी निजी क्लिनिक सञ्चालन गरेको, काउन्टरमै म्याद गुज्रिएको औषधि बिक्रीका लागि राखेको, ओपिडी बोर्ड नराखेको र औषधि बिल नकाटेको फेला परेको छ।
भद्रपुर–५ स्थित पशुपति मेडिकल हलले पसलको बोर्ड नराखेको पाइएको छ। भद्रपुर–४ स्थित मन्त्रीचोक फार्मेसीले काउन्टरमै म्याद गुज्रिएको औषधि बिक्रीका लागि राखेको, पसलको बोर्ड नराखेको र मापदण्ड अनुसार कोठा नभएको फेला परेको छ। त्यसैगरी आयुर्वेदिकतर्फ महेशपुर आयुर्वेदिक उपचार केन्द्रले लेबल बिनाको औषधि बिक्री गरिरहेको पाइएकोले तत्काल लेबल लगाउन अनुगमन टोलीले निर्देशन दिएको छ।
निताई आयुर्वेदिक उपचार केन्द्रले एलोपेथिक औषधि बिक्री गरिरहेको फेला परेको छ। आयुर्वेदिक औषधि बिक्री गर्नुपर्नेमा अन्य औषधि फेला परेकाले तत्काल हटाउन निर्देशन दिइएको छ। अनुगमन टोलीले बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने व्यवसायीहरूलाई कारबाही नगरी पहिलो पटकलाई भन्दै सचेत गराएर त्यतिकै छाडिदिएका छन्।
मापदण्ड विपरीत ल्याब सञ्चालन
स्वास्थ्य संस्था सञ्चालन ऐन, २०७१ अनुसार अनुमति र दर्ता प्रक्रिया अनुसार ल्याब सञ्चालन गर्नुपर्ने हुन्छ। तर, सञ्चालनमा रहेका ल्याबहरूले तोकिएको मापदण्ड पूरा नगरी व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ।
प्रादेशिक अस्पताल अगाडि सञ्चालनमा रहेको मेची मेडिकल डायनोटिक सेन्टरले नगरपालिकामा व्यवसाय दर्ता नगरेको, तोकिएको शुल्क सार्वजनिक रुपमा नराखेको, साइन बोर्ड नराखेको र प्रयोगशालामा फ्रिज अभाव देखिएको पाइएको छ। त्यस्तै अधिकारी प्याथोलोजी क्लिनिकले ल्याबमा फ्रिज नराखेको, तोकिएको शुल्क सार्वजनिक रुपमा नराखेको, मापदण्ड अनुसार ल्याब कोठा नभएको र निडील डेस्ट्रोयर नभएको पाइएको छ।
त्यसैगरी एडभान्स डेन्टलले व्यवसाय दर्ता नगरेकोले सात दिनभित्र व्यवसाय दर्ता गर्न निर्देशन दिएको भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्कीले बताइन्। नगरभित्रका औषधि पसल तथा ल्याबको बारेमा जनगुनासो आएपछि अनुगमन गरेको उपप्रमुख कार्कीले बताइन्।
‘एउटै औषधिको मूल्य पसलै पिच्छे फरक–फरकमा मूल्यमा बिक्री गर्ने, म्याद गुज्रिएको औषधि बिक्री गर्ने जस्तो गुनासो पनि आएको छ,’ उनले भनिन्, ‘अनुगमनपछि व्यवसायीहरूलाई पहिलो पटकलाई सचेत गराउनुका साथै दर्ता–नवीकरण प्रक्रिया तत्काल पूरा गर्न निर्देशन दिएका छौँ।’