नेपालका सपुत डा.महावीर पुन: प्रविधिका ज्योति र राष्ट्रिय समर्पणका प्रतिमूर्ति
नेपालको पहाडी दुर्गम भेगमा जन्मेका एक साधारण व्यक्ति, तर देशका लागि असाधारण योगदान गर्ने व्यक्तित्वका रूपमा डा. महावीर पुनलाई चिनिन्छ । उहाँले गर्नुभएका कार्यहरू केवल प्रविधिको विकासमा मात्र सीमित छैनन्, बरू ती ग्रामीण जीवनमा आमूल परिवर्तन ल्याउने र देशलाई विश्वसँग जोड्ने माध्यम बनेका छन् । सूचना प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा उहाँले देखाएको त्याग र समर्पण अतुलनीय छ ।
प्रारम्भिक क्रान्ति–
डा. महावीर पुनको पहिलो र सबैभन्दा महत्वपूर्ण अभियान नेपालका दुर्गम गाउँहरूमा वायरलेस प्रविधि मार्फत इन्टरनेट पु¥याउनु थियो । सन् १९९० को दशकको अन्त्यतिर नेपालका धेरै ठाउँमा टेलिफोन सेवा पनि मुश्किलले पुगेको अवस्थामा उहाँले गाउँ–गाउँमा इन्टरनेटको सपना देख्नुभयो, जुन कार्यका लागि कुनै सरकारी सहयोग थिएन । उहाँले आफ्नो व्यक्तिगत खर्च, विदेशी साथीहरू र केही स्वदेशी स्वयंसेवकहरूको सहयोगमा काठ र बाँसका एन्टेनाहरू बनाएर गाउँहरूमा इन्टरनेट सञ्जाल विस्तार गर्नुभयो ।
सो कार्यको मुख्य उद्देश्य गाउँका मानिसहरूलाई सूचना र शिक्षामा पहुँच पु¥याउनु थियो । जसले गर्दा ग्रामीण विद्यालयहरूले विश्वका शैक्षिक स्रोतहरूसँग जोडिन पाए, स्वास्थ्यकर्मीहरूले दूरदराजबाटै चिकित्सकहरूसँग परामर्श गर्न सके र स्थानीय उत्पादनहरूले कमोवेश अन्तर्राष्ट्रिय बजारको बाटो पहिल्याए ।
नेपालको दुर्गम म्याग्दी जिल्लाको राम्चे गाविसस्थित नागीका बासिन्दा पुनले आफ्नै खर्चमा म्याग्दी जिल्लाबाट ताररहित इन्टरनेट अभियानको शुरुवात गर्नुभएको थियो । उच्च माध्यमिक शिक्षा सकेपछि १३ वर्ष चितवनमा विद्यालय–शिक्षकको पनि काम गर्नु भएका उहाँले सन् १९८९ मा नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर हासिल गरेर २४ वर्षपछि आफ्नो गाउँ फर्किदा दिगो शिक्षाको आवश्यकता महसूस गरी हिमान्चल उमाविको स्थापनाबाट आफ्नो समाजसेवी अभियान थाल्नुभएको थियो ।
‘नेपाल वायरलेस नेटवर्क’ परियोजना स्थापना गरी दुर्गम पहाडी १५ जिल्लाका करीब १ सय ७५ गाउँलाई इन्टरनेट नेटवर्कमा जोड्ने डा. महावीरको सो अभूतपूर्व कार्यको कदर गर्दै सन् २००७ मा उहाँलाई ‘रेमोन म्याग्सेसे पुरस्कार’ प्रदान गरिएको थियो, जसलाई एसियाको नोबेल पुरस्कार पनि भनिन्छ ।
रेमोन म्याग्सेसे पुरस्कारबाट प्राप्त ५० हजार अमेरिकी डलर बराबरको रकमलाई डा. महावीरले आफ्नो व्यक्तिगत जीवनका लागि प्रयोग नगरिकन नेपालको भविष्यका लागि देखेको सपना विपनामा परिणत गर्ने ध्येय राखेर मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्र (–ल्बतष्यलब िक्ष्ललयखबतष्यल ऋभलतभच – ल्क्ष्ऋ) स्थापना गर्नु भयो ।
डा. पुन ‘इन्टरनेट हल अफ् फेम’, ‘समग्र सामाजिक नवीनता पुरस्कार’, २० हजार डलरको ‘जोनाथन बी पोष्टल अवार्ड’ लगायत विभिन्न अवार्डद्वारा सम्मानित हुनुहुन्छ । पुरस्कारका रुपमा प्राप्त सबै रकम उहाँले आविष्कार केन्द्रकै लागि खर्चनु भएको छ ।
देशमा वैज्ञानिक अनुसन्धान र प्रविधि विकासको वातावरण सिर्जना गर्न, युवाहरूलाई नवप्रवर्तनका लागि प्रोत्साहित गर्न र नेपालभित्रै विभिन्न उपकरण तथा प्रविधि निर्माण गर्न सन् २०१२ मा स्थापित यो केन्द्र डा. महावीरको व्यक्तिगत त्याग र जनसहभागितामा आधारित छ । यसका लागि उहाँले आफ्नो पुख्र्यौली जग्गा धितो त राख्नु नै भयो; देशभरका नेपालीहरूसँग सहयोगको अपील पनि गर्नु भयो ।
डा. पुन अध्यक्ष रहनुभएको आविष्कार केन्द्रले निम्न विभिन्न क्षेत्रमा काम गरिरहेको छ—
क) स्वास्थ्य क्षेत्रः कम लागतमा भेन्टिलेटर, मेडिकल मास्क र अन्य उपकरणहरू निर्माण । (कोरोना महामारीको समयमा राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै भेन्टिलेटर बनाएर देशको स्वास्थ्य प्रणालीलाई उल्लेख्य सहयोग गरेको थियो)
ख) कृषि क्षेत्रः स्मार्ट खेती प्रणाली, ड्रोन प्रविधि र आधुनिक कृषि उपकरणको निर्माण तथा विकास ।
ग) शिक्षा क्षेत्रः विभिन्न प्रविधि र सीपमूलक तालिमहरू सञ्चालन ।
घ) ऊर्जा क्षेत्रः नवीकरणीय ऊर्जाका स्रोतहरूको खोजी र विकास ।
ङ) अन्य उद्योगः विभिन्न औद्योगिक मेसिन र उपकरणहरूको प्रोटोटाइप निर्माण ।
नेपालमा आएर काम गरेको हाल लगभग ३२ वर्षको दौरान शिक्षालाई नै केन्द्रविन्दु बनाएर काम गर्ने सिलसिलामा म्याग्दी जिल्लाका सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर उकास्नका लागि र त्यहाँको आर्थिक समस्याहरू केही मात्रामा भए पनि समाधान हुन्छ कि भनेर डा. पुनले सञ्चालन गर्नुभएका विभिन्न आयस्रोत आर्जनका कार्यक्रमहरू अझै पनि चलिराखेका छन् ।
उहाँको भनाइ छ– ‘देश समृद्ध बनाउने हरेक नेपालीको चाहना छ । सकेसम्म छिटो समृद्धि प्राप्त होस् भन्ने सबैको सपना छ । तर, समृद्ध बनाउँ भनेर उफ्रेर मात्रै समृद्धि आउँदैन । समृद्धि बनाउनका लागि काम गर्नु पर्छ ।
जबसम्म देशको प्रतिभालाई शीर्ष स्थानमा राखिदैन, देश समृद्ध हुन सक्दैन । संसारका जति पनि विकसित देश छन्, तिनले आफ्नो देशको प्रतिभालाई शीर्ष स्थानमा राखेकै कारण अहिलेको स्थानमा आएका हुन् । तर, हामीले चाहिं शीर्ष स्थानमा राख्नु पर्ने कुरालाई एकदमै तल्लो स्थानमा राखेका छौं । र, अब जबसम्म हामी नेपालीले यो कुरालाई शीर्ष स्थानमा राख्दैनौं; तबसम्म नेपाल कहिले पनि समृद्ध हुँदैन ।
देशको प्रतिभाशाली सन्ततिहरूलाई देशमै राख्नु पर्छ, जुन कुरा नेपालमा भएकै छैन । जापान, अमेरिका, बेलायत जति पनि विकसित देश छन्, उनीहरूले प्रतिभालाई देशमै राखेर उनीहरूको प्रतिभालाई प्रयोग गरेर त्यो प्रतिभाबाट देशको आर्थिक विकास गरेका हुन् । सन् १९६० को दशकमा हामीजस्तै रहेका उनीहरू अहिले कहाँ छन्, हामी कहाँ पिँधमा छौं ! कुनै पनि प्रतिभालाई के चाहिन्छ, त्यो पु¥याइदिने काम सरकारको हो । छोरा–छोरीहरूलाई जसरी नै पाल्ने हो– प्रतिभालाई । उनीहरूलाई पैसा चाहिने भए पैसा दिने हो, खाना भोकै भयो भने खाना खुवाउने हो । उनीहरूलाई पढ्न के चाहिन्छ, त्यही वातावरण उपलब्ध गराउने हो ।’
सरकारले सहयोग नगरेपछि ७१ वर्षीय उहाँ बीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्नका लागि आफ्नै आत्मकथाको पुस्तक ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ बिक्रीको अभियानमा केही दिन यता झापामा हुनुहुन्छ । बिर्तामोडपछि भद्रपुरमा ७ दिने अभियान सकेर उहाँ यतिबेला मेचीनगरमा पुस्तक बिक्री गर्दै हुनुहुन्छ । झापापछि उहाँको लक्ष्य इलाम र अन्य पहाडी जिल्ला पुग्ने छ ।
झापाको सदरमुकाम नगर भद्रपुरमा उक्त पुस्तकको बिक्री अभियानमा युवा उद्यमी एवम् भद्रपुर झापा गोल्डकपका अध्यक्ष भद्रपुर–६ निवासी दिपेश ढकालले आफै संयोजक रहेर भरपूर प्रशंस्य सहयोग गर्नु भयो । साउन २३ देखि भद्रपुरका विभिन्न स्थानमा संक्षिप्त कार्यक्रमहरू गर्दै पुस्तक बिक्री–वितरण भयो । सो दिन बिहान एयरपोर्ट होटल–भद्रपुरमा संयोजक दिपेशकै अध्यक्षतामा आयोजित कार्यक्रमबाट अभियान शुरु भएको थियो ।
भद्रपुर नगरपालिका, विद्यालय–कलेजहरू र मेची क्याम्पस, विभिन्न संघ–संस्था र व्यक्तिगत रुपमा समेत गरी ७ दिनमा करीब २३ लाख रुपैयाँ बराबरको पुस्तक खरीद गरेर भद्रपुरवासीले कृषि औजार कारखानाको थप क्षमता विस्तार गरी सञ्चालन गर्ने महामना डा. महावीरको अभियानमा दर्विलो साथ दिएका छन् ।
समष्टिमा, महावीर पुनको जीवन राष्ट्रका लागि निरन्तर समर्पित त्यागको एउटा ज्वलन्त अनुपम उदाहरण हो । उहाँले आफ्नो उच्च पद र राम्रो तलब भएका विदेशी जागिरहरू छाडेर नेपाल फर्कनुभयो । सरकारी बेवास्ताका कारण उहाँको काममा कैयौं चुनौतिहरू आए । तर, उहाँ कहिल्यै निराश हुनुभएन । बरू, जनशक्ति र जनताको सहयोगमा उहाँले आफ्नो यात्रा जारी राख्नुभयो । उहाँको यही अडान र प्रतिबद्धताले गर्दा आज राष्ट्रिय आविष्कार केन्द्र एउटा यस्तो संस्था बनेको छ, जहाँ युवाहरू आफ्ना सपनालाई यथार्थमा बदल्न सक्छन् ।
‘सादा जीवन–उच्च विचार’ भएका व्यक्तित्व डा. महावीर पुन नेपालको प्रविधि र उद्यमशीलताको उदाहरणीय प्रतीक हुनुहुन्छ । उहाँको योगदान अतुलनीय छ । उहाँको जीवनले हामीलाई यो सिकाउँछ– ठूला परिवर्तनका लागि ठूलो पद वा पैसा होइन, बरू दृढ इच्छाशक्ति, अथक परिश्रम र देशप्रतिको सच्चा समर्पण चाहिन्छ ।