कुवेतमा विषाक्त मदिरा सेवनबाट झापा कचनकवलका राजवंशीको पनि मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने १६ नेपालीसहित २३ आप्रवासी कामदारमध्ये एकजना झापाका रहेका छन् ।झापा कचनकवल गाउँपालिका-७ का जात्रु राजवंशीका छोरा २९ वर्षीय रमेश राजवंशीको पनि विषाक्त मदिरा सेवनबाट मृत्यु भएको हो । निलकमल ह्युमन रिसोर्स प्रालिबाट उनी तीन वर्षअघि कुवेत गएका थिए । इन्टरनेशनल फर जनरल ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीमा उनी क्लिनरको काम गर्थे ।
कचनकवलका रमेश राजवंशीको पनि विषाक्त मदिरा सेवनबाट मृत्यु भएको खबर आएको छिमेकी मोहन खनालले जानकारी दिए । कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्ला चार दिनमा १६ नेपालीसहित २३ आप्रवासी ज्यान गएको हो । मदिरा पिएर बिरामी परेका ३५ नेपालीसहित १ सय ६० जनाभन्दा बढीको त्यहाँको विभिन्न अस्पातलहरुमा उपचार भइरहेको छ। कुवेतको साल्मिया क्षेत्रमा रहेका नेपाली र भारतीयलगायत विभिन्न मुलुकका नागरिकले त्यस्तो मदिरा सेवन गरेको पाइएको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयले २३ विदेशी श्रमिकको मदिरा सेवनका कारण मृत्यु भएको जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मिथानोलयुक्त मदिरा सेवनका कारण १ सय ६० श्रमिक बिरामी परेका छन् । मिथानोल उद्योगमा प्रयोग हुने रसायन भए पनि मदिरामा त्यसको प्रयोग गरेको पाइएको हो ।