२०८३ असार २ गते , मंगलबार
बिर्तामोडको ग्यारेजमा आगलागी, करिब १० लाखको क्षति
झापा बिर्तामोडको एक ग्यारेजमा आगलागी भएको छ । राति ११:१५ बजे बिर्तामोड-१ रामचोक बस्ने यदुनाथ मिश्रले सञ्चालन गरेको ग्यारेजमा अचानक बिद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीबाट एकतले टिनको छानो, टिनको बेरा भएको ग्यारेज र इन्जिन बनाउने ६ वटा मेसिन, बनाउन ल्याएको विभिन्न सवारी साधनहरूको ६–७ वटा इन्जिन पूर्णरुपमा जलेर नष्ट भएको छ ।
साथै सोही ग्यारेजमा मर्मतको लागि ल्याएको मे १ क ६४४ नम्बरको टिपरको अगाडीको भागमा सामान्य क्षति पुगेको छ । आगलागीबाट करिब १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। उक्त आगो बिर्तामोड र भद्रपुर नगरपालिकाको दुई वटा दमकल र इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा राति १२ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।