बुधकरणका महिला श्रमिकसँग वीरता लेडी जेसीजले मनायो तीज मिलन
भद्रपुर । वीरता लेडी जेसीजले चिया बगानमा कार्यरत महिला श्रमिकहरूसँग मंगलबार तीज मिलन कार्यक्रम मनाएका छन् ।अन्तर्राष्ट्रिय युवा दिवस तथा आउँदै गरेको हरितालिका तीजको अवसर पारेर वीरता लेडी जेसीजले भद्रपुर नगरपालिका-७ स्थित बुधकरण चिया बगानमा कार्यरत महिलाहरूसँग तीज मिलन कार्यक्रम मनाएका हुन् । लेडी जेसीजले सोही अवसरमा बगानमा कार्यरत ७६ जना महिलाहरूलाई साडी तथा शृङ्गार सामान वितरण गर्नुका साथै दर खुवाएका थिए ।
कार्यक्रम संयोजक मुना ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा जेसीजकी अध्यक्ष निशा शाक्य, बुधकरण टी स्टेटका सञ्चालक राजेन्द्रप्रसाद सिंह राजवंशी, संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्ष मञ्जु पोखरेल, अखिल नेपाल चिया मजदुर सङ्घकी अध्यक्ष सीता सापकोटा, नेपाल ट्रेड युनियन महासङ्घका उपाध्यक्ष भूपाल सापकोटा, लेडी जेसीजकी निवर्तमान अध्यक्ष मेनुका ओली लगायतले कार्यक्रमको प्रशंसा गरेका थिए ।

पछिल्लो समय तीज पर्व होटेल तथा बारमा जम्न थालेपछि त्यो विकृतिलाई न्यूनीकरण गर्दै न्यून आर्थिक अवस्थामा जीविकोपार्जन गर्दै आइरहेका श्रमिक महिलासँग तीज मनाउने अभियान अन्तरगत सो कार्यक्रम गरिएको लेडी जेसीजकी अध्यक्ष शाक्यले बताइन् । संस्थाले सहरमा भन्दा पनि गाउँमुखी कार्यक्रमलाई ध्यानमा राखी अभियान चलाउँदै आइरहेको उनको भनाई छ ।
महासचिव प्रभा रायमाझीले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष मेनुका ओली, पूर्व अध्यक्षहरू सरूँ भुर्तेल खनाल, सङ्गीता चिमरीया, सरूँ खनाल, सङ्गीता गिरी, आजीवन सदस्य शिला ढकाल ,मानार्थ सदस्य अनिता पुरी लगायतको उपस्थिति रहेको कार्यक्रममा सामूहिक नाच गान पनि गरिएको थियो ।