२०८३ असार २ गते , मंगलबार

हल्दिबारीमा हात्तीले पाँचवटा घर भत्कायो, एक महिला घाइते

sajilo news
झापा
२०८२ श्रावण २६ गते , सोमबार
हल्दिबारीमा हात्तीले पाँचवटा घर भत्कायो, एक महिला घाइते

झापामा लगातार क्षति गर्दै आएको जंगली हात्तीले हल्दिबारी मा पाँचवटा घर भत्काएको छ । हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

गएराति १२ः३० बजे हल्दिबारी गाउँपालिका-३ बाघडाँडामा तीनवटा जंगली हात्ती आई निमाई बानियाको टिनको छाना तथा टिनको घेराबेरा भएको घर ,खरको छाना र टिनको घेराबेरा भएको भान्सा घर, सोही स्थान बस्ने हिरालाल मिश्रीको खरको छाना र बाँसको टाँटीबेरा भएको भान्सा घर भत्काएको छ ।

त्यस्तै बिहानको राति ३ बजे हल्दिबारी-२ भेलागुडी सिमसारमा ३ वटा जंगली हात्ती आई खेम गौतमको टिनको छाना र बाँसको टाँटीबेरा भएको घर र सोही स्थान बस्ने ४८ वर्षीय नरेश खड्काको इँटा सिमेन्टले बनेको टिनको छाना भएको १ तले घरको पूर्वपट्टिको वाल भत्काएको छ । हात्तीले वाल भत्काउँदा खड्काकी श्रीमती ४२ वर्षीया अम्बिका खड्का घाइते भएकी छन् । उनको दाहिने हातको पाखुरा र कुममा चोट लागेको छ ।

ती सबैको घर भत्काउँदा अन्दाजी ७० हजार बराबरको क्षति भएको र हात्तीहरू नेपाल प्रहरी र स्थानीयको सहयोगमा जंगलतर्फ धपाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार