२०८२ मंसीर १२ गते , शुक्रबार

भद्रपुरमा लागूऔषध कारोबारी समात्न पुगेका प्रहरीमाथि नै आक्रमणको प्रयास, तीन जना समातिए

sajilo news
पार्थ मण्डल
२०८२ श्रावण २५ गते , आईतबार
भद्रपुरमा लागूऔषध कारोबारी समात्न पुगेका प्रहरीमाथि नै आक्रमणको प्रयास, तीन जना समातिए

झापा । भद्रपुरमा लागूऔषध कारोबारी समात्न पुगेका प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएको छ ।  विशेष सूचनाको आधारमा घोडामारा प्रहरी चौकीको टोली आइतबार दिउँसो १ बजेको समयमा भद्रपुर नगरपालिका–५ स्थित सुन्दरबस्ती बस्ने अन्दाजी ३० वर्षीय सन्तोष श्रेष्ठको घरमा लागूऔषध ब्राउनसुगर बरामद गर्न पुगेका थिए । सोही क्रममा कारोबारी श्रेष्ठकी श्रीमती र मामा ससुरा लगायतले धारिलो हतियार (खुकुरी) निकालेर प्रहरीलाई लखेट्दै आक्रमणका प्रयास गरेका थिए । 

त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुरको सहयोगमा घटनास्थलमा रहेका प्रहरी टोलीले श्रेष्ठसहित उनकी श्रीमती र मामा ससुरालाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा लगेको बताइएको छ । प्रहरीले श्रेष्ठको साथबाट २ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर फेला पारेको छ । 

घटना विवरण अनुसार घोडामारा प्रहरी चौकीले एकजना ब्राउनसुगर सेवनकर्तालाई पक्राउ गरेको थियो । प्रहरीले सेवनकर्तासँग सोधपुछ गर्दा उनले सन्तोष श्रेष्ठको घरबाट खरिद गरी ल्याएको बयान दिएका थिए । सोही बयानको आधारमा प्रहरी टोली श्रेष्ठको घर पुगेका थिए । घरमा गएर छापा मार्दा घटनास्थलमा धुलो ब्राउन सुगर फेला परेको थियो । 

तर, उनीहरूले प्रहरीलाई देख्न साथ प्रमाण नष्ट गर्न ब्राउन सुगर आँगनको भुईँमा फालिदिए । प्रहरीले भुईँबाट टिप्न खोज्दा श्रेष्ठको श्रीमतीले पानी खन्याई ब्राउनसुगर नष्ट गरी घटनास्थलमा रहेका श्रेष्ठलाई त्यहाँबाट भगाउँदै उल्टै प्रहरीमाथि आक्रमण गरेका थिए । प्रहरीले घटनास्थलबाट उनकी श्रीमती र मामा ससुरालाई पक्राउ गरेको थियो भने कारोबारी श्रेष्ठलाई दोभान नाकामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।

यसअघि पनि वडा प्रहरी कार्यालय भद्रपुरको टोली  लागूऔषधको सूचना पाएर कारोबारी श्रेष्ठको घरमा पुगेका थिए । त्यस बेला पनि उनीहरूले प्रहरीमाथि आक्रमणको प्रयास गर्दै ब्राउनसुगर लुकाउन सफल भएका थिए । प्रहरीले कारोबारी श्रेष्ठलाई पक्राउ गरी लगिएपनि ब्राउनसुगर फेला नपर्दा केही दिन हिरासतमा बसी रिहा भएका थिए । 

 

सम्बन्धित समाचार