२०८३ असार २ गते , मंगलबार

इटहरीमा स्कुटरलाई बसले ठक्कर दिँदा बिर्तामोडका सुजन र सुरजको मृत्यु

sajilo news
झापा
२०८२ श्रावण २४ गते , शनिबार
इटहरीमा स्कुटरलाई बसले ठक्कर दिँदा बिर्तामोडका सुजन र सुरजको मृत्यु

सुनसरीको इटहरीमा भएको सवारी दुर्घटनामा बिर्तामोडका दुई युवाको मृत्यु भएको छ ।  आज बिहान ११;२० बजे इटहरी उप–महानगरपालिका-२० पानीपिया जंगलस्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको को २२ प २१२५ नं. को स्कुटर र इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश नं. १ –०२–००२ ख ०४५५ नं. को बस एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा स्कुटर चालक बिर्तामोड- ५ बस्ने वर्ष अन्दाजी २६ का सुजन बि.क. र पछाडि सवार बिर्तामोड ५ कै वर्ष अन्दाजी २२ का सुरज बि.क. को मृत्यु भएको हो । दुवै घाइतेलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएकोमा उपचारका क्रममा १२;३० बजे दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काका भतिजा सम्बन्धमा रहेका उनीहरू चतराबाट फर्किँदै गरेको बताइएको छ । मृतकहरूको शव घोपामा रहेको र आफन्तहरू आइपुगेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । स्कुटर , बस र बस चालक उदयपुर बेलका ३ बस्ने २९ वर्षीय प्रेम मगरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

बिर्तामोड र मोरङको बेलवारीमा सुनचाँदीको काम गर्ने सुजन र सुरजको मृत्युले बिर्तामोडका व्यवसायीहरू शोकाकुल बनेको नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश बराइलीले बताएका छन् ।

सम्बन्धित समाचार