आफ्नै आत्मकथा समेटिएको पुस्तक बोकेर भद्रपुर आइपुगे डा. महाविर पुन, नगरपालिकाले किन्यो रु ५० हजारको पुस्तक
झापा । आफ्नै जीवनमा आधारित पुस्तक बोकेर राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन झापा जिल्ला दौडाहको क्रममा भद्रपुर आइपुगेका छन् ।
‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ नामक आत्मकथा समेटिएको पुस्तक बोकेर आइपुगेका वैज्ञानिक डा. पुनलाई जिल्लाको सदरमुकाम भद्रपुरमा भव्य स्वागत तथा सम्मान गरिएको छ ।
भद्रपुर नगरपालिकाले शुक्रबार एक कार्यक्रमबीच डा. पुनलाई स्वागत तथा सम्मान गर्दै उनको अभियानलाई सहयोग पुर्याउन रु ५० हजार मूल्य बराबरको पुस्तक खरिद गरिदिएको छ ।
भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की लगायतले डा. पुन स्वागत सम्मान गरेका थिए । नगर प्रमुख पोखरेलले वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्ने मुख्य लक्ष्य बोकेर देश दौडाहमा रहेका डा. पुनको पुस्तक खरिद गरी सहयोग पुर्याइनदिनुहुन नगरबासी समक्ष अपिल गरेका छन् ।
त्यस्तै सोही कार्यक्रममा सहभागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले पनि उनको पुस्तक खरिद गरी सहयोग पुर्याएका थिए । डा.पुन करिब एक साता भद्रपुरमा बसेर आफ्नो अभियान सञ्चालन गर्ने जनाइएको छ । आफ्नो अभियानको ४८३ औ दिनमा रहेका डा. पुनले २ लाख २५ हजार भन्दा बढी पुस्तक बिक्री गरिसकेका छन् । पुस्तक बिक्रीबाट बचत भएको १२ करोड रुपैयाँले अहिले कृषि औजार कारखाना चलिरहेको डा. पुनले बताए । यो पुस्तक बेच्ने अभियान समाज सेवा गर्न थालिएको उनको भनाई छ ।
बैंकबाट ऋण नलिई आफ्नै आत्मकथा समेटिएको पुस्तक बेचेर काराखाना चलाउने अभियानमा रहेको बताउँदै डा. पुनले भने, ‘यो पुस्तकभित्र नेपाली युवाहरुको सोचाई परिवर्तन गर्ने कुरा लेखिएको छ, सोचाई परिवर्तन त्यसै हुँदै प्रयास चाँहि गरेको छु, जुन विषयवस्तु पुस्तकमा लेखेको छु ।’ उनले भने, ‘युवाहरुलाई एउटै कुरा भन्न चाहन्छु जीवनमा असफल भएपनि सफल हुने प्रयास चाहि छाडनु हुँदैन, यो मेरो जीवनसँग आधारित पनि छ ।’ त्यस्तै भद्रपुरस्थित एयरपोर्ट होटेल, प्रज्ञा एकाडेमी, विभुती विद्या मन्दिर, नेशनल मेरिगोल्ड स्कुल लगायतले डा. पुनलाई स्वागत सम्मान जनाउँदै उनको पुस्तक खरिद गरिदिएका थिए ।