झापाकी अढाई वर्षीया सुरभी सिलीगुडीकाे सूर्यसेन पार्कमा बेवारिसे अवस्थामा फेला, सौतिनी आमाले लगेर छोडेकी खुलासा
झापा । झापाको दमक नगरपालिका–१ निवासी मनोज साहकी अढाई वर्षीया छोरी सुरभी (निमिसा) भारत पश्चिम बंगाल दार्जिलिङ जिल्लास्थित सिलीगुडीको एउटा पार्कमा बेवारिसे अवस्थामा फेला परेकी छिन्।
गत असार ३२ गते बिहान करिब ९ बजेको समयमा मनोजकी कान्छी श्रीमती अन्दाजी ३० वर्षीया शोभा साह छोरी सुरभीलाई लिएर बेपत्ता भएकी थिइन्।
आमाछोरी घरबाट बेपत्ता भएको ६ दिनपछि छोरी सुरभी मंगलबार दिउँसो करिब २ बजे सिलीगुडीको सूर्यसेन पार्कभित्र एक्लै बसिरहेकी अवस्थामा फेला परेकी थिइन्। त्यहाँको भाषा पनि नबुझ्ने राम्ररी बोल्न पनि नसक्ने सुरभीलाई पार्कका कर्मचारीले प्रहरी बोलाएर सकुशल उद्धार गरेका थिए।
सुरभीसँग फोन नम्बर र एउटा चिठी फेला परेको थियो। प्रहरीले अनुसन्धान गर्ने क्रममा पार्कको सिसी टिभी फुटेज हेर्दा एउटा महिलाले ती बालिकालाई त्यहाँ छाडेर हिँडेकी थिइन्। त्यसपछि प्रहरीले उद्धार गरेकी बालिकालाई कुचविहारको एउटा अनाथालयलाई जिम्मा लगाए।
त्यहाँका स्थानीय सञ्चारमाध्यमले सिसीटिभी फुटेजसहितको घटना सार्वजनिक गरेसँगै मनोजले छोरी सुरभी फेला परेको भनी खबर पाएका थिए। मनोजले तत्काल दमक प्रहरीको समन्वयमा काँकडभिट्टास्थित माइती नेपाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको सहयोगमा सिलीगुडी प्रहरीसँग सम्पर्क गरे। छोरीलाई लिन मनोज आवश्यक कागजातसहित बुधबार नै सिलीगुडी पुगेका थिए।
मनोज कानुनी प्रक्रिया पूरा गरी छोरी लिन भारतमै रहेको बुझिएको छ। मनोज सिलीगुडी प्रहरीको सम्पर्कमा पुगेपछि मात्र पार्कमा फेला परेकी सुरभीलाई उनकै कान्छी आमाले छाडेर गएकी भनी घटना खुलेको थियो। मनोजकी कान्छी श्रीमती शोभा भने अझै सम्पर्कविहीन छिन्।
घटना विवरण अनुसार मनोजकी स्व. जेठी श्रीमती रुबीको छोरी हुन् सुरभी। सुरभी जन्मको दुई दिनमै उनको आमाको निधन भएको थियो। छोरीको हेरचाह तथा पालनपोषणका लागि मनोजले करिब ८ महिनाअघि दोस्रो विवाह गर्दै शोभालाई भित्राइएकी थिइन्। तर, शोभासँग मनोजको सम्बन्ध खासै राम्रो भएन। उनीहरुबीच झैझगडा भइरहन्थ्यो। ‘परिवारमा झैझगडा हुनु सामान्य कुरा हो,’ मनोजले भने, ‘शोभाले छोरीलाई लिएर घरबाट हिँड्नु, र त्यसको केही दिनपछि छोरीलाई भारत पुर्याएर एउटा पार्कभित्र एक्लै छाडेर आफू भाग्नु काम राम्रो भएन।’
शोभा पहिला पनि कसैलाई नभनी एक्लै घरबाट हिँडेकी थिइन्। कयौँ पटक त माइती गएर बसिन्। माइती पक्षले नै सम्झाइबुझाई शोभालाई घरमा ल्याएर छाड्ने गरेको घटना पनि मनोजले सुनाए।
यस पटक शोभा छोरीलाई समेत लिएर बेपत्ता भएको थियो। छरछिमेक तथा आफन्तजनमा पनि उनीहरू फेला नपरेपछि इलाका प्रहरी कार्यालय दमकमा हुलियासहित उजुरी दिएको मनोजले बताए। धन्न छोरीलाई केही भएन, सकुशल भेटियो। ‘शोभा अझै भेटिएको छैन,’ उनले भने। शोभाको पनि खोजी गरिदिन भारतीय प्रहरीलाई उनले आग्रह गरेका छन्।