२०८२ मंसीर १२ गते , शुक्रबार

निःशुल्क पाइने रेबिजविरुद्धको भ्याक्सिन छैन प्रादेशिक अस्पताल भद्रपुरमा, औषधि पसलबाट महँगो किन्नुपर्ने बाध्यता

sajilo news
पार्थ मण्डल
२०८२ श्रावण ६ गते , मंगलबार
निःशुल्क पाइने रेबिजविरुद्धको भ्याक्सिन छैन प्रादेशिक अस्पताल भद्रपुरमा, औषधि पसलबाट महँगो किन्नुपर्ने बाध्यता

झापा । प्रादेशिक अस्पताल भद्रपुरमा विगत एक महिनादेखि  रेबिजविरुद्धको भ्याक्सिन सेवा बन्द छ। कोशी प्रदेश सरकारको स्वामित्वमा रहेको प्रादेशिक अस्पतालमा रेबिजको भ्याक्सिन अभाव हुँदा दैनिकजसो उपचारका लागि आउने बिरामी उपचार नपाई फर्किन बाध्य बनेका छन्। 

गत असार ३ गतेदेखि बन्द भएको सेवा अझै सुचारु नहुँदा बिरामीहरू निजी फार्मेसीबाट महँगोमा भ्याक्सिन किन्न बाध्य भएका छन्। प्रदेश सरकारले प्रादेशिक, जिल्ला तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा रेबिजको भ्याक्सिन निःशुल्क रूपमा उपलब्ध गराउँदै आइरहेको छ।  

रेबिज एक घातक भाइरल रोग हो जुन प्रायः कुकुर, बिरालो, बाँदरजस्ता जनावरको टोकाइ वा र्‍यालले सर्छ। एकपटक लक्षण देखिएपछि यसबाट बच्न सकिँदैन। त्यसैले  २४ घण्टाभित्रै पहिलो भ्याक्सिन लगाउनु अत्यावश्यक सेवा ठानेर सरकारले यो भ्याक्सिन निःशुल्क दिनुपर्ने नीति नै बनाएको हो। 

तर, प्रादेशिक अस्पतालमा निःशुल्क पाइने भ्याक्सिन नहुँदा बिरामीहरू अस्पताल वरिपरिका निजी फार्मेसीहरूबाट साढे ६ देखि ७ सय रुपैयाँसम्म भ्याक्सिन खरिद गरी लगाउनुपर्ने अवस्था आइपरेको बिरामी तथा तिनका आफन्तजनहरूले गुनासो पोखेका छन्। कुकुरले खुट्टामा कोतारेपछि भ्याक्सिन लगाउन प्रादेशिक अस्पताल आएका बिर्तामोड नगरपालिका १ निवासी रमेश मगर नलगाई त्यतिकै फर्किएका छन्। बिर्तामोडबाट भ्याक्सिन लगाउन आएको बताउँदै मगरले भने, ‘पुर्जा काटेर डाक्टर देखाए, डाक्टरले भ्याक्सिन लगाउन भन्यो, भ्याक्सिन सेवा दिने कोठामा पुग्दा त्यहाँका स्वास्थ्यकर्मीले छैन भनी फर्कायो।’ 

अस्पतालमा निःशुल्क छ भनी त्यति टाढाबाट आइयो। ‘बाहिर पसलमा किन्न जाँदा ७ सय रुपैयाँ भन्यो, निःशुल्क पाइने भ्याक्सिन पनि अब महँगोमा किन्नु पर्ने अवस्था आयो,’ उनले भने। सरकारी अस्पतालमा एक महिनासम्म सेवा अवरुद्ध हुँदा अस्पताल प्रशासन के हेरेर बसिरहेको छ ? उनले आक्रोश पोखे। 

त्यस्तै भद्रपुर नगरपालिका–७ का १० वर्षीय बालक जीवन भित्रीकोटी बिरालोले टोक्दा भ्याक्सिन लगाउन बुबासँगै अस्पताल पुगेका थिए। भ्याक्सिन छैन भनेपछि उनका बुबाले निजी पसलबाट ६७० रुपैयाँमा खरिद गरी फेरि अस्पतालमा गई छोरालाई भ्याक्सिन लगाएका थिए। त्यसैगरी बिरालोले कोतारेर अस्पताल पुगेका भद्रपुर–९ का साजिद हुसेन पनि बाहिरै पसलबाट साढे ६ सय भ्याक्सिन किनेर लगाएका थिए। सरकारी अस्पतालमा निःशुल्क पाइने भनिएको भ्याक्सिन नहुनु दुखद हो। ‘हुने खानेलाई त ठिकै छ, गरिब तथा विपन्न परिवारका लागि यो ठुलो समस्या बन्यो, नहुनेले कहाँबाट साढे ६ सय रुपैयाँमा भ्याक्सिन खरिद गरेर लगाउन सक्छ ?’  साजिदका बुबा शाहिद हुसेनले भने। भ्याक्सिन तीन पटक लगाउनुपर्ने हुन्छ। तिन पटकको जोड्दा एक हजार ९५० रुपैयाँ लाग्ने उनको भनाइ छ। 

रेबिज भ्याक्सिनको अभावका कारण दैनिक जसो अस्पताल पुग्ने बिरामीहरू निराश भएर फर्कनु परेको छ। अस्पताल प्रशासनले समेत यसप्रति आवश्यक पहल नगरेको बिरामीहरूको आरोप छ। अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलका अनुसार मासिक ५ सय भ्याक्सिन अस्पतालमा खपत हुन्छ। मन्त्रालयले मासिक रुपमा भ्याक्सिन पठाउँथ्यो। माग गरिएको भ्याक्सिन मन्त्रालयले नपठाउँदा सूचना टाँस गरेर सेवा बन्द गर्नुपर्ने सूचना अधिकारी पोखरेलको भनाइ छ। 

यता अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले मन्त्रालयले कोलोजिङ भन्दै भ्याक्सिन नपठाउँदा सेवा प्रभावित हुन पुगेको बताए। मन्त्रालयलाई लिखित रुपमा जानकारी गराइसकेको अवस्थामा पनि अझै भ्याक्सिन आइपुगेको छैन। यस बारेमा फेरि जानकारी गराउने उनको भनाइ छ। 

उता कोशी सरकार, स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईले प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव बारेमा आफूलाई जानकारी नभएको बताए। यस बारे तुरुन्त आपूर्ति विभागमा जानकारी गराउने उनको भनाइ छ। 

सम्बन्धित समाचार