२०८३ असार ४ गते , विहीबार

'वैदेशिक रोजगारीको नाममा ठगिने क्रम बढेकोले गाउँघरका एजेन्टहरूमाथि प्रहरीले निगरानी बढाउनुपर्छ'

sajilo news
पार्थ मण्डल
२०८२ जेष्ठ २७ गते , मंगलबार
'वैदेशिक रोजगारीको नाममा ठगिने क्रम बढेकोले गाउँघरका एजेन्टहरूमाथि प्रहरीले निगरानी बढाउनुपर्छ'

झापा । वैदेशिक रोजगारीको नाममा ठगिने क्रम बढिरहेकोले गाउँघरमा खटिएका एजेन्टहरूमाथि पनि प्रहरीले निगरानी बढाउनु पर्ने बताइएको छ । 

सुरक्षित आप्रवासन परियोजना (सामी)ले जिल्ला प्रहरी कार्यालय झापामा आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारीका लागि प्रहरीसँगको अन्तरक्रिया कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले गाउँघरमै खटिएका एजेन्टहरूबाट ठगिने क्रम बढिरहेकोले त्यसतर्फ प्रहरीले निगरानी बढाउनु पर्ने बताएका छन् । 

जिल्ला प्रशासन कार्यालयमा चालु आर्थिक वर्षको बैशाख मसान्त सम्म ११५ वटा वैदेशिक रोजगारी सम्बन्धी ठगीका उजुरी परेको बताउँदै प्रजिअ अधिकारीले भने, ‘उजुरी परेकामध्ये १७ वटा मुद्दाबाट ८६ लाख ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिहरूलाई फिर्ता गराएका छौँ, यहाँ सम्भव नभएका उजुरीहरूलाई वैदेशिक रोजगारी विभाग पठाएका छौँ ।’ ऋण काढेर, जग्गा बेचेर गाउँघरका सोझासाझा युवायुवतीहरू सीपै नसिकी रोजगारीका लागि खाडी मुलुक जान्छन् । उनीहरूलाई पठाउने छरछिमेक, आफन्त, नातागोता वा चिनजानै व्यक्तिहरू हुन्छ । 

‘ती व्यक्तिहरूबाटै ठगिने क्रम बढिरहेकोले प्रहरीले त्यस्ता एजेन्टहरूको तथ्याङ्क सङ्कलन गरी वैध वा अवैध हो भनी पहिचान गरी सर्वसाधारण जनतालाई ठगिनबाट जोगाउनु पर्छ,’ प्रजिअ अधिकारीले भने ।  त्यस्तै भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले वैदेशिक रोजगारीका नाममा ठगिने क्रम बढिरहेकोले त्यसतर्फ नगरपालिका सामी परियोजनामार्फत काम गरिरहेको बताएका छन् । 

स्वदेशको बाटो नभई अवैध रुपमा भारतको बाटो भएर पनि विदेश जाने क्रम बढिरहेको बताउँदै नगर प्रमुख पोखरेलले भने, ‘अवैध बाटो भएर विदेश गएमा सरकारबाट कुनै पनि प्रकारको सहयोग तथा क्षतिपूर्ति नपाउने कानुनी व्यवस्था रहेकोले त्यसतर्फ सबै सचेत हुनुपर्छ ।’ 

साथै नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्केका र उनीहरूका परिवारलाई लक्षित गर्दै अभिमुखीकरण, वित्तीय साक्षरतालगायतका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाई छ । त्यसैगरी प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बुले वैदेशिक रोजगारीबाट ठगिएकाहरू सुरुमै आएर प्रहरीमा ठोक्किने गरेको बताए । 

ठगिने व्यक्तिहरू पैसा, पासपोर्ट, नागरिकता फिर्ता जस्ता विषय लिएर प्रहरीको आउने गरेकोले त्यस्ता व्यक्तिलाई प्रहरीले सहजीकरण गरी सम्बन्धित निकाय पठाउने गरेको उनको भनाई छ । 

सामी परियोजनाले वैदेशिक रोजगारीमा विभिन्न देश गएका, फर्किएर आएका र उनीहरूको आश्रित परिवारको हितका लागि सामीले पुनः श्रम स्वीकृति, पारिवारिक स्वास्थ्य उपचार, बिरामीको अङ्गभङ्ग र मृत्यु भएकालाई आर्थिक सहायता, सन्तति छात्रवृतिलगायतमा सहयोग गरिरहेको परियोजनाका कार्यक्रम संयोजक शेखर बुढाथोकीले जानकारी दिए । 

चालु आर्थिक वर्षको वैशाखसम्म झापा जिल्लाबाट ३२ हजार २९ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै चालु आर्थिक वर्षको जेठ २५ गतेसम्म कोशी प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १५५ जनाको मृत्यु भएको सामीका कार्यक्रम अधिकृत रोहित विश्वकर्माले जानकारी दिए । त्यसमध्ये सबै बढी मृत्यु हुने ७१ जना झापाका छन् । त्यस्तै कोशीमा ५२ जना अङ्गभङ्ग भएकामध्ये झापाका मात्रै ३४ जना रहेको उनले बताए ।  

 

सम्बन्धित समाचार