बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी सुरु, पूर्वराष्ट्रपति भण्डारीले गरिन उद्घाटन
बिर्तामोड । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै क्षेत्रमा विज्ञान तथा प्रविधि निर्णायक बन्दै गएको बताएकी छिन । झापाको बिर्तामोडमा आजदेखि सुरु कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उनले वैज्ञानिक दृष्टिकोणबाट समृद्धि हासिल गर्न सकिने बताइन् ।
नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको प्रदर्शनीमा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले परिवर्तनको आधार नै विज्ञान प्रविधि भएकाले सामाजिक, राजनीतिक,निजी क्षेत्र र राज्य पक्षले यसमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताइन् ।
नेपाली विद्यार्थीहरूलाई विज्ञान तथा प्रविधिमा दक्ष बनाएर विश्वस्तरीय प्रतिस्पर्धी बनाउन आवश्यक रहेको भन्दै विज्ञान प्रदर्शनी जस्ता कार्यक्रमहरू आयोजना गर्न जरुरी रहेको धारणा व्यक्त गरिन । विज्ञान तथा प्रविधिमा दक्ष बनाउने हामी सबैको दायित्व हो, उनले भनिन्,‘ विज्ञानलाई प्रयोगशालामा मात्र सीमित गर्न हुँदैन, यसलाई विकाससँग जोडेर लैजानुपर्छ ।’
विद्यालय तहबाटै विद्यार्थीहरूलाई वैज्ञानिक सोच र प्रविधिमा रुचि जगाउन आवश्यक रहेको बताउँदै उनले शिक्षामा भौतिकसँगै प्रविधिमा लगानी गर्न आवश्यक रहेको बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजका बालबालिकाहरूलाई पाठ्यक्रममा मात्र सीमित बनाउन नहुने धारणा व्यक्त गरिन । बालबालिकाहरूलाई वैज्ञानिक दृष्टिकोणबाट सोच्न सक्ने बनाए मात्रै मुलुकको समृद्धि सम्भव हुने बताइन।
बिर्तामोडस्थित देवी माविको प्राङ्गणमा जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन समारोहमा नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राई, कोशी प्रदेशका सचिव राजकुमार भण्डारी, देवी माविको प्रअ अम्बिका श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा पार्टीका विभिन्न तहका नेतृत्वहरूको सहभागिता रहेको थियो ।
प्रदर्शनीमा प्रथम हुने विद्यालयले चार लाख, दोस्रो हुनेले तीन लाख, तेस्रो हुनेले दुई लाख र सान्त्वना हुनेले एक लाख नगद पुरस्कार प्राप्त गर्ने विभागका प्रमुख गणेश पोखरेलले जानकारी दिए । प्रदर्शनीमा १२ जिल्लाका ७० वटा विद्यालय सहभागी भएका छन् । विद्यालयहरूले स्टलमार्फत विज्ञान प्रदर्शनी गरिरहेका छन् भने विद्यार्थी र सहभागी शैक्षिक सरोकारवाला, पार्टी नेतृत्वहरुले अवलोकन गरिरहेका छन् ।