२०८२ मंसीर १२ गते , शुक्रबार

भिजिट भिसा प्रकरण : गृहमन्त्रीले राजीनामा नदिए संसद् अवरुद्ध गर्ने विपक्षी दलको तयारी

sajilo news
पत्रपत्रिका
२०८२ जेष्ठ १३ गते , मंगलबार
भिजिट भिसा प्रकरण : गृहमन्त्रीले राजीनामा नदिए संसद् अवरुद्ध गर्ने विपक्षी दलको तयारी

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग उठ्दैगर्दा उनको दल नेपाली कांग्रेसले भने बचाउ गरेको छ । कांग्रेसले सो प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको निष्कर्षसमेत निकालेको छ ।

तर, विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गरेका छन् । गृहमन्त्रीले राजीनामा नदिए मंगलबार बस्ने संसद् बैठक अवरुद्ध गर्ने विपक्षी दलहरूको तयारी रहेको छ ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितका विपक्षी दल गृहमन्त्रीले राजीनामा नगरे संसद् बैठक अगाडि बढ्न नदिने तयारीमा रहेका छन् ।

रास्वपा सहप्रवक्ता एवं सांसद मनीष झाले गृहमन्त्री लेखकले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएका छन् । उनले सोमबार राजधानीसँग भने, ‘हामी मंगलबारको संसद् बैठकमा आफ्नो कुरा राख्छौं, सत्ता पक्ष कसरी अगाडि बढ्छ, सोहीअनुसार हामी अघि बढ्छौं ।’

भिजिट भिसा प्रकरणमा सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भने मौनता साँधेको छ । यस बारेमा कांग्रेसले नै निर्णय गरोस् भन्दै एमाले बोलेको छैन ।

तर, सत्तारूढ कांग्रेसले गृहमन्त्री लेखकको बचाउ गर्दै सो प्रकरणमा उनको संलग्नता नरहेको निष्कर्ष निकालिसकेको छ । सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले मन्त्री लेखक भिजिट भिसा प्रकरणमा संलग्न नभएको निष्कर्ष निकाल्दै राजीनामा गर्नु नपर्ने जनाएको छ । बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिसा प्रकरणमा लेखकको संलग्नता नभएकामा कांग्रेस विश्वस्त रहेको बताए ।

उनले जो यसमा संलग्न छन्, उनीहरूलाई कारबाही हुनुपर्ने पनि जिकिर गरे । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ । कांग्रेसका केही नेताले लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

बैठकमा केही नेताले गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिएर निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने विचार राखेका थिए । नेताहरूले राजीनामाको कुरा उठाएपछि गृहमन्त्री लेखकले पनि ‘मेरो कारणले पार्टी र सरकारलाई अप्ठ्यारो पर्छ भने राजीनामा दिन तयार छु’ भनेको बैठकमा सहभागी एक नेताले बताए ।

गृहमन्त्री लेखकले राजीनामा दिन तयार रहेको बताएसँगै पार्टी सभापति शेरबहादुर देउवाले ‘पर्दैन, पर्दैन’ भनेर बीचमै रोकेको ती नेताले बताए । कांग्रेसभित्रैका केही नेताले अब गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त हुने बताउँदै आएका छन् । कांग्रेस नेताहरू डा. शेखर कोइराला, राजेन्द्र बजगाईं, डा. सुनिल शर्मालगायतले जोडतोडका साथ गृहमन्त्री लेखकको राजीनामा माग गरिरहेका छन् ।

हरेक महŒवपूर्ण विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै आएका कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहितका नेताहरू भने मौनता साधिरहेका छन् ।

यता, माओवादी केन्द्रको सोमबार नै बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानबिनका लागि लेखकले राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्रीले तुरुन्त राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको बताए । उनले राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा शक्तिको दुरुपयोग हुन नदिन पनि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने जिकिर गरे । गृहमन्त्रीले राजीनामा दिन ढिला गरे राज्यको साख गिर्दै जाने प्रवक्ता सापकोटाले बताए । आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार