२०८३ बैशाख २३ गते , बुधबार

ललितपुर एफसी एनएसएल च्याम्पियन

sajilo news
झापा
२०८२ बैशाख १३ गते , शनिबार
ललितपुर एफसी एनएसएल च्याम्पियन

नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ।  त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा भएको खेलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुरले दोस्रो पटक उपाधि उचालेको हो। 

जितसँगै ललितपुरले नगद ८० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता पोखराले ३० लाख रुपैयाँमा चित्त बुझाएको छ।

ललितपुरले लिग चरणको शुरूआतमा काठमाडौंँसँग २–२ को बराबरी खेलेको थियो। त्यसपछि पोखरामाथि ३–२ को जित निकाल्यो। धनगढीसँग गोलरहित बराबरी, चितवनमाथि २–१, बुटवलविरुद्ध २–० को जित र झापासँग १–१ को बराबरी खेल्दै प्रतियोगितामा अपराजित रह्यो।

३ जित र ३ बराबरीसहित १२ अङ्क जोड्दै ललितपुर अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको थियो। ललितपुरले धनगढीलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

पोखराले लिग चरणको शुरुआत चितवनसँग २–० को हारबाट गरेको थियो। त्यसपछि ललितपुरसँग ३–२ ले पराजित भयो। काठमाडौँमाथि २–० को जितले पुनरागमन गर्दै धनगढीसँग गोलरहित बराबरी र झापासँग १–१ गोलको बराबरी खेलेपछि बुटवलमाथि २–० को जित निकालेको थियो।

२ जित, २ बराबरी र २ हारसहित पोखराले ८ अङ्क जोड्दै गोलअन्तरको आधारमा काठमाडौँलाई पछि पार्दै प्लेअफमा पुग्ने चौथो टोली बनेको थियो। एलिमिनेटरमा चितवनसँग लिग चरणमा भोगेको हारको बदला लिँदै ३–० को जित निकाल्यो।  दोस्रो क्वालिफायरमा धनगढीलाई १–० ले हराउँदै पोखराले फाइनलमा स्थान सुरक्षित गरेको थियो।

सम्बन्धित समाचार