२०८२ बैशाख १३ गते , शनिबार

मेचे समुदायको ‘बैशागु बथर’ पर्व, मेचीनगरले दियो पहिलो पटक स्थानीय बिदा

sajilo news
झापा
२०८२ बैशाख २ गते , मंगलबार
मेचे समुदायको ‘बैशागु बथर’ पर्व, मेचीनगरले दियो पहिलो पटक स्थानीय बिदा

मेचीनगर नगरपालिकाले मेचे समुदायको ‘बैशागु बथर’ पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले मेचे समुदायको बैशाख ३ गते ‘बैशागु बथर’ पर्व परेकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिए ।

नगर कार्यपालिको कार्यालय र मातहत कार्यालय तथा नगर क्षेत्रभित्रका शिक्षण संस्थाहरूमा अत्यावश्यक सेवा बाहेक स्थानीय सार्वजनिक बिदा हुने उनले बताए । यही चैत १९ गते मेचे समाज शिवियारी आफात मेचीनगरका अध्यक्ष देशभक्त मेचेको नेतृत्वमा गएको टोलीले नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई ‘बैशागु बथर’ पर्वमा सार्वजनिक बिदा दिनु पर्ने मागसहित ज्ञापनपत्र बुझाएको थियो । नगरप्रमुख बुढाथोकीले नगरपालिका स्थापनापछि पहिलो पटक मेच समुदायलाई स्थानीय सार्वजनिक बिदा दिइएको बताए ।

मेचे समुदायको राष्ट्रिय पर्व ‘बैशागु बथर’ बैशाख महिनाभरि मनाउने गरिएको छ । नयाँ वर्षलाई स्वागतसँगै मेचे समुदायको पहिरनमा बाजा गाजासहित विभिन्न परिकारको खानपिन गरेर नाचगान गर्ने चलन रहेको छ । यो जाति लोपन्मुख तथा सिमान्तकृत समुदायमा पर्ने एउटा जाति हो । जस्को जनसंख्या २०७८ को जनगणना अनुसार देशभरि करिव पाँच हजार १९३ जना रहेका छन् ।

सम्बन्धित समाचार