२०८२ बैशाख १३ गते , शनिबार

रास्वपाद्वारा कालो झन्डा प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको विरोध

sajilo news
झापा
२०८१ चैत्र ३० गते , शनिबार
रास्वपाद्वारा कालो झन्डा प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको विरोध

नेकपा एमालेको जनजागरण सभाका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली दमक आएका बेला राष्ट्रिय स्वतन्त्र पार्टीले झापामा सांकेतिकरुपमा कालो झन्डा प्रदर्शन गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको शिवसताक्षी नगर समितिको प्रथम नगर अधिवेशनका सहभागीहरूले आफ्नो कार्यक्रम स्थलमा सांकेतिकरुपमा कालो झन्डा प्रदर्शन गरी प्रधानमन्त्री ओली र सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन्। सहभागीहरूले ‘तानाशाह चाहिँदैन दमन गर्न पाइँदैन , न्यायालय निष्पक्ष होस् , प्रहरी प्रशासनमा राजनीति आदेश बन्द गर , ओली गुन्डाराज चल्दैन , विधिको शासन कायम गर , जनता अब जाग्नेछन् निरङ्कुश भ्रष्ट भाग्नेछन् ’ जस्ता नारा लगाएका हुन् ।

रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सचेतक निशा डाँगी , प्रदेशका कार्यवाहक सभापति सरिन तामाङ, प्रदेश महामन्त्री लालविक्रम थापा , कोशी– काठमाडौँ सम्पर्क समिति सभापति राजन गौतम , झापाका सचिव शम्भु सुस्केरा , सहसचिव भीम कुँवर , कोषाध्यक्ष पुष्प ढकाललगायत क्षेत्र र पालिकाका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

आफूहरूले यसअघि नै शिवसताक्षी नगरपालिकामा अधिवेशन तय गरिसकेकाले प्रधानमन्त्रीलाई विरोध गर्न आज दमक जान नपाएपछि आफ्नै कार्यक्रममा सांकेतिकरुपमा विरोध जनाइएको कार्यवाहक सभापति पाठकले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार