२०८२ बैशाख १३ गते , शनिबार

दमकमा एमालेको जनजागरण सभा आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

sajilo news
झापा
२०८१ चैत्र ३० गते , शनिबार
दमकमा एमालेको जनजागरण सभा आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

झापा  ।  सत्तारुढ दल नेकपा (एमाले)ले झापाको दमकमा आज जनजागरण सभा गर्ने भएको छ । सरकारमाथि निरन्तर हमला हुन थालेपछि संघीयता र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि भन्दै एमालेको कोशी प्रदेश कमिटीले दमकको पशु हाटमा जनजागरण सभा गर्न लागेको हो । 

सभाको सम्बोधन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । प्रधानमन्त्री ओली ११ बजे भद्रपुर विमानस्थल ओर्लिएर दमक जाने कार्यक्रम रहेको जनाइएको छ । ओलीले साढे १२ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

जनजागरण सभामा प्रदेशभरबाट एक लाखको सहभागिता गराउने एमाले कोशी प्रदेश कमिटीको लक्ष्य छ । सभामा झापा, इलाम, मोरङ, सुनसरी, उदयपुरबाट ठूलो सङ्ख्यामा सहभागी रहने एमालेको दाबी छ। यस्तै, पहाडी जिल्लाबाट पनि उल्लेख्य सङ्ख्यामा सहभागी रहने एमाले कोसी प्रदेश इन्चार्ज शेरधन राईले जानकारी दिए । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि औला उठाउने तत्त्वलाई सशक्त खबरदारी गर्न सभाको आयोजना गरिएको उनको भनाई छ । 

पूर्वतर्फबाट आउने सवारी साधन र सहभागीहरू रतुवा पुल पारी र पश्चिमतिरबाट आउने सहभागीहरू पश्चिम बस स्टेन्डमा सवारी रोकेर नारा जुलुससहित कार्यक्रमस्थल प्रवेश गर्नेछन् । जागरण सभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयंसेवक परिचालन गरिएको उनले बताए । जागरण सभा सफल बनाउन पूर्व सन्ध्यामा दमकमा बृहत् मोटरसाइकल र्‍यालीसमेत निकालेको थियो ।

सम्बन्धित समाचार