माओवादी केन्द्र शिवसताक्षीको अध्यक्षमा नेम्बाङ

नेकपा माओवादी केन्द्र शिवसताक्षीको दोस्रो नगर अधिवेशनबाट दुर्गा नेम्बाङ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । दुधेमा शनिबार सम्पन्न दोस्रो अधिवेशनले नेम्बाङसहित उपाध्यक्षमा राजु दर्नाल, कचाली ताजपुरिया र भुवन राईलाई सर्वसम्मत चयन गरेको छ । सचिवमा धनकुमार ढकाल, सहसचिवमा भुवन सेन्दाङ र देविका खनाल तथा कोषाध्यक्षमा हेमबहादुर कार्की(सुमन) सहित ४५ सदस्यीय नगर समिति चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईको अध्यक्षता र केन्द्रीय सदस्य तथा कोशी प्रदेश सह इन्चार्ज अजम्बर काङमाङ राईको प्रमुख आतिथ्यमा अधिवेशन भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री झलकसिंह दर्लामी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रञ्जित तामाङ, प्रदेश सदस्यहरू कल्पना कार्की, रामबहादुर राई र पुरुषोत्तम चुँडाल, जिल्ला कमिटी सदस्यहरू, कनकाई नगर कमिटीका अध्यक्ष विष्णु विमलीलगायतको उपस्थिति रहेको थियो ।