विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेका भ्यान दुर्घटना, ६ जना घाइते
झापाको शिवसताक्षीमा इलेक्ट्रोनिक भ्यान (इभी) दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आज बिहान ९ः४० बजे शिवसताक्षी नगरपालिका-८ सम्झना चौकस्थित पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्र १–०२–००१ ज ४५०० नम्बरको इलेक्ट्रोनिक भ्यान अनियन्त्रित भई सवारी दुर्घटना हुँदा त्यसमा सवार ११ जनामध्ये ६ जना घाइते भएका हुन्।
घाइतेहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । घाइते हुनेहरूमा मोरङ मधुमल्ला- ९ बस्ने वर्ष २० सुरज श्रेष्ठ, उर्लाबारी नगरपालिका–३ बस्ने वर्ष ५२ की सरिता धिमाल, पाँचथर मिक्लाजुङ गाउँपालिका- ३ बस्ने वर्ष ६८ का धनबहादुर फियाक, पाँचथर कुम्मायक गाउँपालिका-३ बस्ने वर्ष ४० का किरण ढुङ्गाना र मोरङ बेलबारी नगरपालिका- २ बस्ने वर्ष ३५ की शान्तिला कटवाल रहेका छन् ।
त्यस्तै चालक सुनसरी बर्जू गाउँपालिका-३ बस्ने वर्ष ३० का शनि मगर पनि सामान्य घाइते भएका छन् । उनको लालीगुराँस हेल्थकेयर मेडिकलमा उपचार भइरहेको छ । सम्पूर्ण घाइतेका आफन्तलाई जानकारी गराइसकेको र सवारीसाधन इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।