भद्रपुर नगरपालिकाले मनायो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस
भद्रपुर । भद्रपुर नगरपालिकाले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाएका छन् । नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार झापा कारागार महिला बन्दीहरूको सुविधालाई मध्यनजर गरी टेबल पङ्खा र कुर्सी वितरण गरिएको छ । नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्कीसहितको टोलीले कारागार पुगेर एक संक्षिप्त कार्यक्रमका बीच तीन थान टेबल पङ्खा र एक दर्जन कुर्सी वितरण गरिएको थियो । त्यस्तै नगरपालिकाले जिल्ला प्रहरी कार्यालय झापाको महिला हिरासतमा सेनेटरी प्याड वितरण गरेका थिए ।
त्यसैगरी नगरपालिकाको सभा हलमा विभिन्न संघसंस्थाहरुको समन्वयमा नगरपालिकाले यौन दुर्व्यवहार, साइबर अपराध र लागु औषध नियन्त्रण सम्बन्धी किशोर किशोरीहरूसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नगर उपप्रमुख कार्कीको अध्यक्षता तथा नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी किशोर किशोरीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मेहेंगी ल्यामु तामाङले सो अपराधहरुको बारेमा जानकारी गराएकी थिइन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, सामाजिक विकास समितिका संयोजक सीता गुरागाईँ, निगरानी समूह, बाल सञ्जाल, किशोरी समूह लगायत जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति रहेको सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी दिइन् । नगरपालिकाले आइतबार बिहान प्रादेशिक अस्पताल भद्रपुरको प्रसूति गृहका नवजात शिशुलाई कपडा र सुत्केरी आमालाई पोषणयुक्त खानेकुरा वितरण गर्ने कार्यक्रम रहेको उनले बताइन् ।