२०८३ असार ४ गते , विहीबार

अन्तर्राष्ट्रिय महिला दिवसकै दिन भोक र रोगले ज्यान गुमाइन् बिर्तामोडकी जासो ऋषिदेव

sajilo news
झापा
२०८१ फाल्गुन २४ गते , शनिबार
अन्तर्राष्ट्रिय महिला दिवसकै दिन भोक र रोगले ज्यान गुमाइन् बिर्तामोडकी जासो ऋषिदेव

झापा । ११५ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गोष्ठी र सेमिनारमा महिला अधिकारका बारेमा कुरा चलिरहँदा झापा बिर्तामोड– १० विराटपोखरकी जासो ऋषिदेवले भोक र रोगले ज्यान गुमाइन् ।

अति विपन्न मुसहर समुदायकी जासो गत वर्षदेखि थला परेकी थिइन् । न सुत्ने घर ,न खाने अन्न र त्यसमा पेटको रोग ,दम, खोकी , क्षयरोगजस्ता धेरै बिरामीले च्यापेपछि बिहीबार बिहान ४० वर्षकै अल्पायुमै उनको निधन भयो । सैनिक बजार जाने सडक छेउको ऐलानी जग्गामा ७ घर मुसहरहरूको दशकौँदेखि बसोबास छ । त्यही मुसहर बस्तीमा एउटा पनि बेरा नभएको , छानो मात्र भएको उदाङ्गो टहरामा जासोको परिवार बस्छन् । आठ जना छोराछोरीमध्ये करिब चार वर्षअघि एक जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि सात जना छोराछोरीलाई जासो र उनका श्रीमान् शत्रुधन ऋषिदेवले जनमजदुरी गरेर पाल्न सकेनन् । त्यही भएर उनका छोराछोरीले मागेरै गुजारा चलाएका छन् ।

घरमा खानेकुरा नभएपछि उनीहरूका छोराछोरी अरुकै घरमा खान पुग्छन् । सुत्ने घर नहुँदा उनीहरूको सुताइ पनि बाहिर नै हुन्छ । ७ जना छोराछोरीमध्ये कोही पनि विद्यालय जाँदैनन् । ५ छोरा र २ छोरीमध्ये जेठी छोरी भारतको नागाल्यान्डमा बाल मजदुरको रुपमा काम गर्छिन् । अरू ६ जना घरमै छन् । छोरीमुनिको १२ वर्षका अर्जुन, मनु ऋषिदेवकोमा बस्छन् । उतै काम गर्छन् उतै खान्छन् । त्यसमुनिका अनीश , मनिष , लव , कुश र माया गाउँघरमै मागेर गुजारा चलाउँछन् ।

यस्तो दर्दनाक अवस्थामा जासो गत वर्षदेखि थला परेपछि उनलाई औषधी उपचार टाढाको कुरा भरपेट खान पाइनन् । छरछिमेकले दिएको खानेकुराले लगभग एक वर्ष प्राण बचाएर अन्ततः दुई दिनअघि ज्यान गुमाइन् ।

आर्थिक अभावसँगै चेतना नभएका कारण जासो र उनका श्रीमान् शत्रुधन अधिकांश समय मादक पदार्थले मातेका भेटिन्थे । छिमेकीहरूले गाली गर्दै सहयोग गर्थे । छिमेकी खगेन्द्र सङ्ग्रौलाले अनुसार खानेकुरा र सामान्य औषधी किन्न छिमेकी भएको नाताले आफूहरूले सहयोग गरे पनि अस्पतालमै लगेर उपचार गर्न नसकेको बताए ।

सम्बन्धित समाचार