आज फागुन २१ : सुखानी हत्या काण्डको सम्झना
झापा । फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको एक ऐतिहासिक दिन । २०२९ फागुन २१ मा पञ्चायती शासकविरुद्ध भएको झापा विद्रोहको बिष्फोटक दिन हो । यसै दिन विद्रोहमा संलग्न भएकै कारण इलामको माईनगरपालिकाको दानाबारीस्थित सुखानीमा झापा आन्दोलनका अगुवाहरुलाई पञ्चायती शासकले गोली हानी हत्या गरेको थियो ।
झापा कारागारबाट इलाम कारागार सार्ने बहानामा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई प्रहरीले गोली हानी हत्या गरेको थियो । उनीहरुले सहादत्त प्राप्त गरेको सुखानी नेपाली कम्युनिस्टहरुको श्रद्धा स्थलको रुपमा रहँदै आएको छ ।
हरेक वर्ष फागुन २१ मा नेकपा एमालेले विविध कार्यक्रमको आयोजना गर्दै सुखानीका शहीदहरुलाई सम्झिने गरेको छ । ५० वर्षअघि कम्युनिस्ट आन्दोलनका क्रममा पाँच जनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ ले परिचित रहेको छ । आज सोही अवसरमा कम्युनिस्ट पार्टीमा आवद्ध दलहरुले विविध कार्यक्रम गरी श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दै स्मृति दिवस मनाउँदै छन् । त्यस्तै सोही अवसर अर्जुनधारा नगरपालिकाले आज स्थानीय सार्वजनिक बिदा दिएका छन् ।
झापा विद्रोहको जड
नेपालको कम्युनिस्ट आन्दोलन परिपक्व नभई छिन्नभिन्न भइरहेका बेला झापाका केही कम्युनिस्टहरुले वर्गशत्रु खत्तम अभियान चलाए । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी २०२५ सालतिर पुग्दा यसको रापले केही झापाली युवाहरुलाई उमालिसकेको थियो ।
त्यहि बेला कोअडिर्नेसन कमिटी, झापाले तत्कालीन समाजमा भूमिपति ठहरिएका र गरिबमाथि अन्याय गर्नेहरुलाई वर्गशत्रुको विशेषण दिए । र, उनीहरुको सफाय अभियान चलाए । यही अभियान वा आन्दोलनले नै नेपाली राजनीतिमा झापा विद्रोहको नामबाट चिनिन्छ ।
खासमा वर्गशत्रु खत्तम अभियान लिएर सुरु भएको झापा विद्रोहको पहिलो कारबाही २०२८ जेठ २ मा रामनाथ दाहालको नेतृत्वमा झापाको ज्यामिरगढीका एक जमिनदारको हत्या गरिएको थियो । यसलाई झापा विद्रोहको पहिलो कारबाही मानिएको झापा बिद्रोहका अगुवाहरु बताउँछ । पञ्चायती बर्बरताले जनतालाई थिलथिलो बनाउन थालेपछि वर्गशत्रु सफायाको अभियान थालेका आन्दोलनकारीहरु धमाधम पक्राउ परे ।
त्यही क्रममा आन्दोलनका अगुवाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ पनि पक्राउ परे । उनीहरुलाई झापा कारागारमा राखिएको थियो । प्रशासन समक्ष आत्मसमर्पण गर्ने छाँट नदेखाएपछि २०२९ फागुन २१ मा उनीहरुलाई इलाम कारागार सरुवा गर्ने भनियो । र, झापाको शनिश्चरे हुँदै इलाम लाने भनी झापा र इलामको सीमावर्ती क्षेत्र इलामको सुखानीमा पु¥याएर गोली हानी हत्या गरिएको थियो ।