‘बिक्दै नबिक्ने पत्रिका, न बिक्छ, न त झुक्छ, १० बाट एकैपटक ५० रुपैयाँ!
काठमाडौंबाट प्रकाशन हुँदै आएको दैनिक पत्रिका ‘राजधानी’ अबदेखि ५० रुपैयाँ पर्ने भएको छ। राजधानी दैनिकले शुक्रबारदेखि मूल्य बढाएर ५० रुपैयाँ बनाएको हो। बिहीबारसम्म यसको मूल्य १० रुपैयाँ थियो। अग्र पृष्टमा ‘बिक्दै नबिक्ने पत्रिका, न बिक्छ, न त झुक्छ’ नारासहित प्रकाशकीय लेखेर पत्रिकाले मूल्य बढाएको जानकारी दिएको हो।
‘२४ औँ वर्षको यात्राका क्रममा नेपालले बेहोर्नुपरेको महाभूकम्प, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड), आर्थिक मन्दी, महँगी तथा विज्ञापन बजार खस्कँदै जानु, पत्रिका छपाइका लागि आवश्यक सामग्रीको मूल्यवृद्धिलगायत विविध कठिनाइका बाबजुद पनि हामीले साबिक मूल्यमै हाम्रा पाठकसमक्ष समाचार पुर्याउँदै आइरहेका थियौँ’, प्रष्टीकरण दिँदै राजधानीले भनेको छ, ‘आगामी दिनमा सत्यतथ्य र विश्वसनीय समाचार पाठकमाझ पुर्याई पत्रिकालाई निरन्तरता दिन कठिनाइ भएका कारण आजकै मितिदेखि मूल्य समायोजन गर्न बाध्य भएका छौँ।’
काठमाडौंमा प्रकाशन हुँदै आएका अन्य दैनिक पत्रिकाको मूल्य १० रुपैयाँ छ। २४ वर्षदेखि प्रकाशित हुँदै आएको राजधानी दैनिक व्यवस्थापन पक्षको किचलोले २०८० जेठदेखि केही समय बन्द भएको थियो।
