२०८३ असार ४ गते , विहीबार

काँकडभिट्टाबाट टिभिआरएस प्रणाली सुरु

sajilo news
रासस
२०८१ फाल्गुन १५ गते , विहीबार
काँकडभिट्टाबाट टिभिआरएस प्रणाली सुरु

बिर्तामोड ।  ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टाले आजदेखि मेचीनगरअन्तर्गतका मुख्य सडकमार्गमा ट्राफिक भाइलेसन रेकर्डिङ सिस्टम (टिभिआरएस) प्रणाली लागू गरेको छ। काँकडभिट्टा ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी नायव निरीक्षक पूर्ण गौतमका अनुसार सो प्रणाली लागू भएसँगै यातायात व्यवस्थापनमा सहयोग पुग्नुका साथ ट्राफिक नियमविपरीत सवारीसाधन चलाएवापत दण्डित सवारी चालकले नगदको सट्टा बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने हुन्छ। 

यसअघि झापाको बिर्तामोड र दमकमा सुरु भएको टिभिआरएस प्रणालीलाई पूर्वतर्फ विस्तार गरी मेचीनगरसम्म पुर्‍याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए।

उनले आगामी दिनमा झापाको गौरीगञ्ज, कन्काई, सुरुङ्गा, बुद्धशान्ति, अर्जुनधारालगायतका सडकमार्गमा समेत टिभिआरएस सेवा क्रमशः विस्तार गर्ने योजना रहेको जानकारी दिए।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनको स्वचालित रुपमा पहिचान भई ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने भएकाले सवारीसाधनको चाप हुने प्रमुख सडकमार्गमा यो प्रणाली लागू गर्न लागेको ट्राफिक प्रहरी कार्यालय झापाले स्पष्ट गरेको छ। 

टिभिआरएस प्रणालीले सवारीसाधनहरूको गति, लेन परिवर्तन, ट्राफिक सङ्केत उल्लङ्घनजस्ता गतिविधिलाई निगरानी गरी अभिलेखीकरण गर्ने भएकाले ट्राफिक नियम पालनामा सुधार ल्याउने र दुर्घटना दर घटाउने अपेक्षा गरिएको छ। 

यसैगरी दण्ड जरिवानावापत तिर्नुपर्ने तोकिएको रकम सोझै राजश्वमा दाखिला हुने भएकाले पारदर्शी र जवाफदेही बनाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

सम्बन्धित समाचार